व्यवसायीक  सङ्कटमा हेलिकोप्टर, ‘अब एडभान्स’ लिएर मात्र उडान गर्ने

विहीबार, ०४ असोज २०८०, ०७ : ५६

सरकारले चालू आर्थिक वर्ष २०८० र ८१ देखि हेलिकोप्टरमा यात्रा गर्ने यात्रुलेसमेत भ्याट तिर्नुपर्ने व्यवस्था लागू गरेको छ। प्रत्येक उडानबापत सरकारलाई यात्रुको पनि मूल्य अभिवृद्धि कर(भ्याट) बुझाउनु पर्ने भएपछि  हेलिकोप्टर कम्पनीहरुले अबदेखि एडभान्स विना उडान नगर्ने भएका छन्। 

कैलाश हेलिकोप्टरका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेले एडभान्स रकम लिएर मात्र उडान गर्ने र पुरानो बक्यौता भएका कम्पनी र व्यक्तिलाई  हेलिकोप्टर सुविधा नदिने विषयमा सञ्चालकहरुबीच सहमति भएको जानकारी दिएका छन् ।  पछिल्लो समय मौसममा सुधार नभएर उडान गर्न नपाउदा हेलिकोप्टर त्यतिकै राख्नु परेको र खर्च भने बढीरहेको उनले बताए। मौसममा सुधार नआएकै कारण उडानका लागि आएको बुकिङसमेत लिन नपाएको उनको भनाई छ।

चिनजानका आधारमा कसैले फोन गरेकै भरमा हेलिकोप्टर पठाउने गर्दा उधारो रकम नै उठन धौधौ हुन थालेपछि एडभान्स रकम लिने कम्पनीहरुबीच भद्र सहमति भएको अल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमानुरु शेर्पाले बताए। हुन त एडभान्स रकम लिएर मात्र उडान गर्ने सहमति सञ्चालकहरुले यसअघि पनि गरेका थिए। तर, कम्पनीहरुबीच नै प्रतिस्पर्धा भएका कारण फोनको भरमा उडान गर्दै आएका थिए। जसका कारण बजारमा धेरै उधारो उठ्न बाँकी हुँदा त्यस्ता हेलिकोप्टर कम्पनीहरु समस्यामा पर्दै आएको व्यवसायीहरुको भनाई छ।

प्राधिकरणले मौसममा सुधार नआएसम्म  हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउने  सर्कुलर जारी गरेको थियो। जसको असर अहिले हेलिकोप्टर बिजनेशमा रुपमा परेको छ। यसअघि वर्षातको समयमा मौसम खुलेको बेला हेलिकोप्टरहरुले विभिन्न जलविद्युत आयोजनाहरुमा ‘स्लिङ’ उडानमार्फत सामान पुर्याउदै आएको थिए। जलविद्युत सामान ढुवानीबाट हेलिकोप्टर कम्पनीहरुले राम्रै आम्दानी गरेका थिए।

सेप्टेम्बर लागेसँगै नेपालमा पर्यटकीय सिजन सुरु हुन्छ। त्यहीअनुसार अहिले विदेशी पर्यटकहरु नेपाल आइरहेका छन्। तर, प्राधिकरणले उडान नखुलाउदा बुकिङसमेत लिन पाएका छैनन्।जसका कारण हेलिकोप्टर कम्पनीहरुको वित्तिय अवस्था कमजोर हुँदै  गएको सञ्चालकहरुको भनाई छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हेलिकोप्टरलाई लगाएको उडान प्रतिबन्ध अबको केही दिनभित्रै खुल्ने जानकारी दिए। जल तथा मौसम विभागले वर्खायाम सकिएको जानकारी गराएपछि मात्र प्राधिकरणले निर्णय गर्ने उनको भनाई छ।

विहीबार, ०४ असोज २०८०, ०७ : ५६

प्रतिक्रिया