काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङझाउ पुगेका छन् । उनी शनिबार बिहान हाङझाउ पुगेका हुन् । राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट चीन प्रस्थान गरेका हुन् । आजै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका छ
चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले प्रधानमन्त्री प्रचण्डलाई हाङझाउ विमानस्थलमा स्वागत गरेका थिए ।
चिनियाँ समयअनुसार अपराह्न ५ बजे प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता तय भएको छ ।
कूटनीतिक स्रोतका अनुसार उनीहरूबीच दुई चरणमा गरी ५० मिनेट कुराकानी हुनेछ । त्यसअघि राष्ट्रपति सीले खेलको उद्घाटन समारोहमा सहभागी विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा आयोजित दिवाभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । शनिबारदेखि हाङझाउमा एसियाड सुरु हुँदै छ ।
उक्त भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीलगायत हुनेछन् । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ १९औँ एसियाली खेलको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ ।
प्रतिक्रिया