भुक्तानी नपाए साँगा–धुलिखेल सडक ठप्प पार्ने निर्माण कम्पनीको चेतावनी

७ महिना अगाडि

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडक खण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ ।

निर्माण कम्पनीले सूर्य विनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनासँग गत जेठमै रु १५ करोड भुक्तानी माग गरेकामा हालसम्म नपाएपछि धुलिखेलमा सरोकारवालासँगको छलफलका क्रममा निर्माण रोक्ने चेतावनी दिइएको हो ।

कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडक खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । सडक विभागका अनुसार ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

 साँगा–धुलिखेल सडक खण्डमा सडक विस्तारको काम १५ प्रतिशत सकिएको निर्माण कम्पनीको माग छ। “दसैँसम्ममा मागअनुसारको रकम भुक्तानी नभए साँगा–धुलिखेल सडक खण्डको काम रोक्नेछौँ”, कन्स्ट्रक्सनका प्रतिनिधि रवीन्द्र श्रेष्ठले चेतावनी दिएका छन्।

भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियर नारायणप्रसाद लामिछानेले निर्माण कम्पनीबाट रु १५ करोड माग भएको तर भुक्तानी ढिला हुने भएको बताएका छन् । उनका अनुसार सूर्य विनायक–धुलिखेलसम्म पुल निर्माणसहित सडक विस्तारका लागि कूल ९ अर्ब रुपैयाँ लाग्ने र यसमध्ये जम्मा ५४ करोड रुपैयाँ मात्रै ‘स्रोत सुनिश्चितता’ भएको छ । 

आयोजनाका लागि हाल सरकारसँग १ अर्ब रुपैयाँ माग गरिएको लामिछानेले बताए । उनका अनुसार साँगा–धुलिखेल सडक खण्डअन्तर्गतका रूख कटान कार्य सुरु गरिएको तथा विद्युत्का खम्बा हटाउन विद्युत् प्राधिकरणसँग प्रक्रिया थालिएको छ ।

७ महिना अगाडि

प्रतिक्रिया