rss

कर्मचारीको अभावमा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित

६ महिना अगाडि

लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ ।  कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिनुभयो । 

प्रदेश सरकार मातहत रहेको सो कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी भए पनि हाल दुई जना प्राविधिक जनशक्तिसहित चार जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालयमा एक जना वरिष्ठ कृषि विकास अधिकृत, एक जना अर्थविज्ञ, एक जना बाली विकास अधिकृत, एक जना बाली संरक्षण अधिकृत, एक जना कृषि प्रसार अधिकृत र एक जना बागवानी विकास अधिकृतको दरबन्दी भए पनि हाल वरिष्ठ कृषि विकास अधिकृतको रुपमा कार्यालय प्रमुख कुशवाहा मात्र कार्यरत रहनुभएको छ । 

यस्तै सो कार्यालयमा प्राविधिक सहायक तीन ,  लेखापाल एक , खरिदार एक, कार्यालय सहयोगी तीन  र हलुका सवारी चालक एकजनाको दरबन्दी रहेकोमा स्थायी एक जना र करारमा एक जना गरी दुई जना कार्यालय सहयोगी मात्र कार्यरत रहेको कार्यालय प्रमुख कुशवाहाले बताउनुभयो । एक जना हलुका सवारी चालकलाई करारमा राखिएको छ । 

कार्यालयमा तत्काल बाली संरक्षण, योजना, बागवानी विकास अधिकृतको पदपूर्ति आवश्यक भएको उहाँले बताउनुभयो ।  ती पदको कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न र आवश्यक कृषिसम्बन्धी परामर्श दिन समस्या भएको कार्यालय प्रमुख कुशवाहाको भनाइ छ । 

जिल्लाका कतिपय क्षेत्रमा धानबालीमा गवारो किराको प्रकोप देखिए पनि कर्मचारी अभावका कारणसम्बन्धी क्षेत्रमा पुगेर आवश्यक परामर्श सेवा पु¥याउन कठिनाइ भएको उहाँले बताउनुभयो । यस्तै कार्यालयमा लेखापाल नहुँदा आर्थिक कारोबार गर्न समस्या भइरहेको र समय समयमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखापाल बोलाएर काम गर्ने गरेको उहाँको गुनासो छ ।
 

६ महिना अगाडि

प्रतिक्रिया