कञ्चनपुरको महाकाली नदी किनारामा खुला बिच भलिबल प्रतियोगिता हुने भएको छ। नेपाली सेनाको नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलो पटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता हुन लागेको हो।
असोज २९ गतेदेखि आयोजना हुन लागेको प्रतियोगिताको पुरस्कार राशि १ लाख रुपैयाँ राखिएको छ। आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा बिच भलिबल आयोजना गरिने जानकारी गराएको छ।
नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको जनाएको छ। प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं भलिबल सङ्घका जिल्ला अध्यक्ष श्यामसिंह मौनीले खेलकुदको विकाससँगै यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा समेत आयोजनाले बल पुग्ने बताएका छन्।
‘शुक्लाफाँटाबाट झोलुङ्गे पुल हुँदै भाइरल रोडसम्म पर्यटक आवागमन बढ्ने अनुमान छ,’ उनले भने, ‘त्यसका लागि सरकारी संयन्त्र र भलिबल सङ्घबिच सहकार्य भएर प्रतियोगिता आयोजना हुँदै छ।’ खुलातर्फ प्रथम स्थान हासिल गर्ने टिमलाई १ लाख रुपैयाँ नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।
त्यसै गरी द्वितीय हुने टिम ५० हजार रुपैयाँ नगद र तृतीय स्थान ओगट्ने टिम २५ हजार रुपैयाँ नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने संयोजक मौनीले जानकारी दिए। त्यसै गरी भेट्रान (४० वर्षभन्दा माथि) तर्फ पहिलो हुने टिमले २५ हजार रुपैयाँ, दोस्रोले १५ हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन्।
प्रतिक्रिया