चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् ।
राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित तीन वटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकाय एक भएर अघि बढ्ने मङ्गलवार संयुक्त निर्णय गरेका छन् ।
राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउ कुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा ‘स्पिड लाइन’सहित ट्राफिक सङ्केत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजना तथा निर्माण व्यवसायीलाई निर्देश गर्नुभयो ।
जिल्लाभित्रका अन्य सडकमा समेत सहज ढङ्गले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मत सम्भारलाई तीव्रता दिई अवरुद्ध रहेका सडक तत्काल सुधार गराउन एवं सञ्चालनमा रहेका सडकको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय÷आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।
चाडपर्वको समयमा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो आउन नदिने गरी आवश्यक सङ्ख्यामा सवारीको व्यवस्था गर्न सम्बन्धित व्यवसायी पनि सहमत भएका छन् ।
चाडपर्वका समयमा मानिसको आवतजावत बढेसँगै सवारी चापसमेत वृद्धि हुने र सवारी दुर्घटना बढ्न सक्ने हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारीको नियमित प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमित रूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया