प्रधान सेनापति ट्रफी–२०८० खेलकुद प्रतियोगिता सम्पन्न

बुधबार, ०१ कार्तिक २०८०, १२ : १०

काठमाडौँ - गत असोज १८ गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफी–२०८० खेलकुद प्रतियोगिता मंगलबार प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा समापन भएको छ । तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरू समावेश गरिएको उक्त प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनी गरी जम्मा १४ वटा टिमहरू सहभागी थिए ।

उक्त प्रतियोगितामा समग्रमा श्री उपत्यका पृतना प्रथम, श्री नं.१६ बाहिनी द्वितीय र श्री मध्य पूर्वी पृतना तृतीय भएका छन् । यसैगरी गणतर्फ श्री जगदल गण प्रथम, श्री पुरानो गोरख गण द्वितीय र श्री फष्टरैफल गण तृतीय भएका छन् ।

जंगी अड्डाको खेल मैदानमा सम्पन्न समारोहमा प्रधान सेनापति महारथी  प्रभुराम शर्माले प्रतियोगितामा प्रथम श्री उपत्यका पृतना तथा गणहरूमध्ये प्रथम श्री जगदल गणलाई ट्रफि, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरेका थिए । 

उनले हालै सम्पन्न १९ औँ एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने नेपाली सेनाका एथलेटिक्स खेलाडी अमलदार दीपक अधिकारी तथा सुटिङ खेलाडी शिल्सा भण्डारी (रायमाझी) लाई प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरे ।

त्यसै गरी सोही प्रतियोगितामा कांस्य पदक प्राप्त गर्ने कबड्डी टिममा सहभागी नेपाली सेनाका खेलाडीहरु चार जना मध्ये हुद्दा मेनुका राजवंशी, सिपाही गंगा घिमिरे र सिपाही ईशा राईलाई पदोन्नति गरी पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुको साथै प्रधान सेनापति प्रशंसा निशान प्रदान गर । यसै गरी सोही खेलमा सहभागी सफाइकर्मी अनुजा कुलुङ्ग राईलाई प्रधान सेनापति प्रशंसा निशान तथा नगद रु।५० हजार प्रदान गरेका थिए ।

सोही क्रममा कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएका फिफा सहायक रेफ्री स्वर्गीय विक्रम चौधरीको परिवारलाई नगद रु एकलाख तथा सम्मान पत्र प्रदान गरे । नेपाली सेनामा सेवारत रहेकै बखत दिवंगत भएका स्वर्गीय हुद्दा चौधरीका छोरा तथा छोरीलाई श्री कल्याणकारी निर्देशनालयबाट सञ्चालित महाविद्यालयमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने व्यवस्था समेत गरिएको छ ।

त्यसै गरी, प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमहरुका साथै अतिरथी निर शम्शेर ज।ब।रा। पुरस्कार कोषबाट पुरस्कृत खेलाडीहरूलाई पूर्व प्रधान सेनापतिहरू क्रमशः प्यारजंग थापा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र बलाध्यक्ष रथी सिताराम खड्काले पुरस्कार प्रदान गरे ।

समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव, पूर्व प्रधान सेनापतिहरू, बहालवाला तथा अवकाश प्राप्त रथी, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्न खेलकुद सङ्घका पदाधिकारीहरू, सैनिक श्रीमती सङ्घका अध्यक्ष तथा पदाधिकारीहरू, सैनिक सहचारीहरू, सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधि एवं सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

बुधबार, ०१ कार्तिक २०८०, १२ : १०

प्रतिक्रिया