उपाधि बोकेर फर्कियो यू(१९) क्रिकेट टोली

विहीबार, ०९ कार्तिक २०८०, १० : ०१

काठमाडौँ –  मलेसियामा सम्पन्न एसीसी यू(१९) प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको छ । मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै नेपालले उपाधि जितेको थियो । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

 नेपालले आफूले खेलेको पाँचवटै खेलमा विजयी हुँदै उपाधि चुमेको हो । प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनको विशाल अन्तरले हराएको थियो । 

  नेपालले त्यसअघि भएको समूहगत चरणमा पनि  तीनवटै खेल जितेको थियो । पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको नेपालले दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो । 

मलेशियामा सम्पन्न उक्त प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी थिए । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट भएका छन् । छनोट प्रतियोगितामा पहिलो हुने नेपाल र दोस्रो हुने यूएई एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा परेका छन् । 

पाकिस्तानमा हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् । मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा तेस्रो हुने टोली जापान भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा परेको छ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।

विहीबार, ०९ कार्तिक २०८०, १० : ०१

प्रतिक्रिया