सरकारी गाडी पतिलाई उपहार ?

आइतबार, १२ कार्तिक २०८०, १२ : ५६

काठमाडौं –सुशासनको नारा दिने प्रचण्ड सरकारमा अनौठा गतिविधिहरु देखिन थालेका छन् । सरकारले भ्रष्टाचारका विरुद्ध पनि कदम चालिरहेको छ । तर सरकारकै मातहत रहेको उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त जानुका ढकालले आफ्ना पतिलाई उपहार दिएको सरकारी गाडी उपहार दिएपछि राष्ट्रिय सतर्कता केन्द्रले तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको ४२५७ नम्बर ९सिल्भर कलरको स्कारपियो० को सरकारी गाडी ढकालले आफ्ना पति विनोद पछाइलाई निजी प्रयोजनका लागि उपलब्ध गराएकी छन् ।

यसबारेमा समाचार बाहिरिएपछि सतर्कता केन्द्रले दशंै अगाडि नै प्राधिकरणलाई चिट्ठी लेखी उक्त नम्बरको सरकारी गाडी फिर्ता गर्न निर्देशन दिएको हो ।

प्राधिकरणलाई फिर्ता पठाएमा फेरि दुरुपयोग हुनसक्ने सम्भावना भएकाले मन्त्रालयलाई नै फिर्ता पठाउन निर्देशन गरिएको केन्द्रका एक कर्मचारीले बताए । ती कर्मचारीले भने–‘रातो नम्बर प्लेट राखेर सरकारी गाडीको यसरी दुरुपयोग हुनु भनेको अख्तियारीको चरम दुरुपयोग हो । तुरुन्त फिर्ता नगरेमा हामीले थप कारबाही गर्छौ ।’

स्रोतका अनुसार ४२५७ नम्बर (सिल्भर कलरको स्कारपियो) को सरकारी गाडी काठमाडौं उपत्यका विकास प्राधिकरण मातहतको भक्तपुर जग्गा एकीकरण आयोजनाको स्वामित्वमा छ । तर उक्त गाडी पछाईले केही बर्षदेखि आफ्नै जस्तो गरेर निजी प्रयोग गरिरहेका छन् । यहाँसम्म कि तरकारी बोक्ने, छोराछोरीलाई स्कूल पठाउने घुमघाम गर्ने काम पनि त्यही गाडीबाट गर्दै आएका छन् । उक्त गाडी रातो नम्बर प्लेटको छ ।

 सरकारको मातहतमा रहेका आयोजनाहरूले रातो नम्बर प्लेट राखेर गाडी गर्न खरिद गर्न सक्छन् तर यस्ता गाडी बढीमा एउटा÷दुई वटा मात्र खरिद गर्न सक्छन । सरकारी बिदाको दिनमा पनि फिल्डमा गई काम गर्नुपर्ने भएकाले जग्गा एकीकरण आयोजनाहरुले रातो नम्बर प्लेटका एउटा–दुई वटासम्म गाडी खरिद गर्न सक्ने छुुट दिइएको हुन्छ ।

स्रोतले यस सम्बन्धमा भन्यो ‘प्राधिकरणमा आएपछि ढकालले भक्तपुर जग्गा एकीकरण आयोजनासँग रातो नम्बर प्लेटको एउटा गाडी भएको थाहा पाइन्, त्यसपछि प्राधिकरणका लागि भनेर भक्तपुरबाट गाडी मगाइन् । तर उक्त गाडी प्राधिकरणको लागि नभई आफ्नो श्रीमानलाई प्रयोग गर्न दिइन् यहाँसम्म कि भक्तपुर जग्गा एकीकरण आयोजनाका कर्मचारीहरुले समेत आयोजनाको स्वामित्वमा रहेका गाडी जानुका ढकालका श्रीमानले प्रयोग गरिरहेका छन् भन्ने थाहा पाएका छैनन् ।

आइतबार, १२ कार्तिक २०८०, १२ : ५६

प्रतिक्रिया