कात्तिक १३ बाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा आइसिसी टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया क्षेत्रबाट छनौटका लागि फाइनल खेल भइरहेको छ।
कार्तिकको १३ गतेबाट सुरु भएको खेल १९ गतेसम्म चल्ने छ। जारी क्रिकेट खेलमा सहभागी हुन नेपाल बाहेक ७ देशका खेलाडी मैदानमा छन्। एउटा टिममा १५ खेलाडी छन्। खेलाडीसहित प्रशिक्षक र अन्य सहयोगी गरेर कम्तीमा २० देखि २३ जनाको टिम नेपाल आएको छ।
नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष पदमबहादुर खड्काले जारी खेलका खेलाडीको सम्पूर्ण खर्च आइसिसीले नै बेहोरेको बताएका छन्। विदेशबाट आउने र नेपालमा रहेका खेलाडीको बसाइको सम्पूर्ण खर्च आइसिसीले नै बेहोर्ने कोषाध्यक्ष खड्काको भनाइ छ। विश्वकप छनौटका लागि आइसिसीले सङ्घलाई ३ लाख अमेरिकी डलर दिने छ।
आजको डलर मूल्यअनुसार हेर्दा ३ करोड ९७ लाख ९२ लाख रुपैयाँ हुन्छ। कोषाध्यक्ष खड्काका अनुसार खेलाडीलाई राख्ने होटेल छनौटदेखि सम्पूर्ण व्यवस्था आइसिसीले नै गरेको छ।
खेलका लागि राखिएको प्रायोजनको सम्पूर्ण रकम भने क्रिकेट सङ्घले नै पाउने छ। कतिको प्रायोजन आयो भन्ने यकिन भने नभइसकेको कोषाध्यक्ष खड्काको भनाई छ ।
खेल १९ गतेसम्म रहेकाले अहिले नै प्रायोजनबापत रकम कति उठ्यो र कति खर्च भयो भन्ने हिसाब आउन केही समय लाग्ने उनी बताउँछन्। खेलमार्फत अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रचारप्रसार मात्रै भएको छैन, डलर आम्दानीसमेत भएको देखिन्छ। मुलुक आर्थिक सङ्कटमा परेर अर्थतन्त्र नै चलायमान नभइरहेका बेला विश्वकप क्रिकेट छनौट खेल नेपालमा हुनु र ३ लाख अमेरिकी डलर भित्रिनुलाई सकारात्मक मान्नुपर्ने सङ्घको भनाई छ।
होटेलमा बस्दा र खाँदा हुने खर्च आयोजकले बेहोरे पनि बाहिर खाने खर्च खेलाडी स्वयंले तिरेका छन्। जसका कारण ३ लाख डलर बाहेक उनीहरूले गर्ने व्यक्तिगत खर्चसमेत नेपालमा भित्रिएको छ। हाल त्रिभुवन विश्वविद्यालयस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा छनौट प्रक्रियाको खेल भइरहेका छन्।
छनौटका लागि समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन्। क्रिकेट हेर्नका लागि समूह चरणको खेलसम्मका लागि २ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ। सेमिफाइनल खेलदेखि भने टिकट मूल्य बढाएर ३ सय रुपैयाँ बनाइएको छ।
त्रिवि क्रिकेट मैदानमा १२ देखि १५ हजार दर्शक अट्न सक्छन् भने मुलपानीमा ३ हजार ५ सय जना अट्न सक्ने क्षमता छ। टिकट बिक्रीबाट मात्रै दैनिक १० लाख रुपैयाँ बराबरको आम्दानी भइरहेको छ।
प्रतिक्रिया