धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न पर्यटनमन्त्री किरातीको निर्देशन

६ महिना अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानमा विमानस्थल निर्माणका लागि अध्ययन गर्न तत्काल समिति गठन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्। 

धरानमा विमानस्थल निर्माण गर्ने विषयमा केही दिन अगाडि धरानका मेयर हर्क साम्पाङ राईले पर्यटन मन्त्री किराँतीलाई पत्र लेखेका थिए त्यसको हप्ता दिन नबित्दै मन्त्री किराँतीले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै धरानमा विमानस्थल निर्माणका लागि अध्ययन गर्न समिति गठन भनेर प्राधिकरणलाई निर्देशन दिइएको जानकारी दिएका छन्। 

‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरिएको छ,’ मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्।  धरानको घोपाडाँडामा विमानस्थल बनाउने भन्दै २०६० सालमा नै स्थानीयको करिब ९२ रोपनी जग्गा लिइएको थियो। तत्कालीन अवस्थामा मुआब्जाको शैलीमा पैसा दिएर स्थानीयले सस्तो दरमै जग्गा उपलब्ध गराएका थिए। 

यती समूहले विमानस्थल बनाउने भन्दै जग्गा नियन्त्रणमा राखे पनि विमानस्थल नबनेको भन्दै पछिल्लो समय स्थानीयले विरोध जनाउँदै आएका थिए। विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरेको समाचार बाहिरिएसँगै धराने जनताले मन्त्री किराँतीको पहल कदमीको तारिफ गर्दै चाडै प्रक्रिया अगाडि बढाउन अपिल गरेका छन् । 

६ महिना अगाडि

प्रतिक्रिया