केपी ओली कप : लुम्बिनी प्रदेशद्धार गण्डकी प्रदेश ५ रनले पराजित

५ महिना अगाडि

काठमाडौँ-  पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा लुम्बिनी प्रदेशको टोलीले गण्डकी प्रदेशलाई पाँच रनले पराजित गरेको छ ।

महत्त्वपूर्ण खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई हराएपछि सशस्त्र प्रहरी बलको एपीएफ क्लबको भाग्य चम्किएको छ ।लुम्बिनी र गण्डकी प्रदेशको खेलपछि समूह ‘बी’ बाट एपीएफ क्लब सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको खेलको समाप्तिमा तीनवटै टोलीले दुई—दुई अंकमात्र जोड्न सके । समूहगत चरणमा तीनवटै टोलीले एक—एक खेलमा जित हात पारे । 


त्यसपछि नेट रन रेटमा अगाडि रहँदै एपीएफ क्लब सेमिफाइनलमा पुग्न सफल भयो । एपीएफ क्लबको नेट रन रेट १.९८९, गण्डकी प्रदेशको नेट रन रेट —०.००८ र लुम्बिनी प्रदेशको नेट रन रेट —१.९७५ रह्यो । समूह ‘ए’ बाट भने बागमती प्रदेश यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।  टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकीले भने १८.५ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सक्यो । गण्डकी प्रदेशलाई लक्ष्यसम्म पुग्न नदिन लुम्बिनी प्रदेशका बलर मोहम्मद हुसैन एक्लैले चार विकेट लिए । उनले ३.५ ओभरमा केवल नौ रन खर्चिए । अजय लुनियाले पनि तीन विकेट हात पारे । रमेश कुर्मीले पनि दुई विकेट लिए । अभिषेक गौतकले एक विकेट कुम्ल्याए । 


गण्डकी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपरन गौरव बिक एक र किरण पौडेल शून्य रनमै पेभेलियन फर्किए । तेस्रो नम्बरका ब्याट्सम्यान मुस्कान थापा पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका दिनेश बुढामगरले १३ रन बनाए । अभिषेक थापा नौ रनमा आउट भए । सन्दीप क्षेत्री शून्य रनमै पेभेलियन फर्किए भने अमृत गुरुङ पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् ।  कप्तान विपिन खत्रीले भने टोलीको खातामा १९ रन थपे । उनले १४ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । कमल परियारले पनि टोलीका लागि ११ रनको योगदान गरे । उनले नौ बलमा एक छक्का हिर्काएका थिए ।  सुदिप अर्यालले टोलीलाई जिततर्फ डोर्‍याउने प्रयास गरेका थिए । दशौँ नम्बरमा क्रिज समाल्न आएका सुदिपले ३५ रन बनाएका थिए । उनले केवल २४ बलको सामना गरी चार छक्का र दुई चौका पनि हिर्काएका थिए । तर, १९औँ ओभरको पाँचौँ बलमा उनी पेभेलियन फर्किएपछि गण्डकी हार स्विकार्न बाध्य बन्यो । चन्द्र पौडेलले अविजित तीन रन बनाए । गण्डकी प्रदेशले अतिरिक्त रूपमा पाँच रन पाएको थियो । 

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि ध्रुव सुनार र नर सार्कीले २३—२३ रन बनाएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान ध्रुवले २१ बलमा एक छक्का र दुई चौका प्रहार गरे । नरले पनि १७ बलमा एक छक्का र तीन चौका हिर्काएका थिए । लुम्बिनीका लागि चौथो नम्बरका ब्याट्सम्यान विराट भण्डारीले पनि १६ रन बटुलेका थिए । उनले २२ बलमा तीन चौका प्रहार गरेका थिए । ओपनर ब्याट्सम्यान मिर्नाल गुरुङले पनि २४ बलमा एक चौकाको मद्दतले ११ रन बनाएका थिए ।  लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अभिषेक गौतम दुई र अजय लुनिया दुई रनमा अविजित रहे । कप्तान कृष्ण कार्कीले आठ र मोहम्मद हुसैनले सात रन बनाएका थिए । 

लुम्बिनीले अतिरिक्त रूपमा नौ रन पाएको थियो । गण्डकी प्रदेशका बलर अमृत गुरुङले तीन विकेट लिएका थिए । उनले चार ओभरमा २५ रन खर्चिए । चन्द्र पौडेलले पनि दुई विकेट हात पारे । विपिन कार्की, सुदिप अर्याल र दिनेश बुढामगरले एक—एक विकेट लिएका थिए । 

५ महिना अगाडि

प्रतिक्रिया