एसीसी यू—१९ एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानको सामना गर्दै

४ महिना अगाडि

काठमाडौँ-  एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाल उक्त प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी मंगलबार खेल्नेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । दुवै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ तारिखमा हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले उक्त प्रतियोगिताका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

यू—१९ एसिया कप क्रिकेटलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको तयारीका रुपमा लिइएको छ । यू—१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुँदै छ ।

नेपाली टोलीले मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै यू—१९ एसिया कपमा स्थान बनाएको थियो । एसीसी यू–१९ प्रिमियर कपमा उपविजेता बनेको यूएई र तेस्रो स्थानमा रहेको जापान पनि यू—१९ एसिया कपमा छनोट भएका थिए ।

यसैगरी नेपाली टोलीले युएईलाई उसैको घरेलु मैदानमा हराउँदै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो । यू—१९ विश्वकपमा भने नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । 

४ महिना अगाडि

प्रतिक्रिया