भारतको यूपी–११ माथि पर्साको रोमाञ्चक जित

४ महिना अगाडि

काठमाडौँ-  नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछाने नेतृत्वको टोली पर्सा क्लब–११ ले भारत उत्तर प्रदेशको टोली यूपी–११ माथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूपी—११ ले १६ ओभरमै अलआउट हुनुअघि ६६ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्साले भने १६.३ ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।

पर्साका लागि दुई ब्याट्सम्यानले मात्र दाहोरो अंकमा रन बनाउन सके । ओपनर अनिल शाहले १८ रन बनाए । उनले २१ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान सन्दीप लामिछानेले १२ रन बटुले । उनले २० बलमा एक छक्का पनि प्रहार गरे । त्यसअघि सन्दीपले तीन विकेट पनि लिएका थिए ।  

पर्साका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर इमरान शेख शून्य रनमै आउट भए भने हासिम अन्सारी पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । सुरज पटेल चार रनमा आउट भए भने पवन सर्राफले खातासम्म खोल्न सकेनन् ।

नसरुद्दिन अन्सारीले आठ रन जोडे भने अल्फाज मन्सुरी एक रनमै आउट भए । रुपेश सिंह शून्य रनमै पेभेलियन फर्किए । सैफुल्लाह अन्सारीले अविजित चार र रंजित कुमारले अविजित पाँच रन बनाए । पर्साले अतिरिक्त रुपमा १२ रन पायो ।

यूपी–११ का बलर भीम शर्मा, तरुण कुमार र वासी अन्सारीले दुई–दुई विकेट लिए । सुभम चौधरीले पनि एक विकेट हात पारे । उक्त खेलमा पर्सा क्लब–११ का कप्तान सन्दीप लामिछाने म्यान अफ दी म्याच घोषित भए ।

त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूपी—११ ले १६ ओभरमै अलआउट हुनुअघि ६६ रनमात्र बनाउन सकेको थियो । यूपी—११ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । ओपनर शिवम शर्मा खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।

अर्का ओपनर अल्तमास आलम पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरका ब्याट्सम्यान तरुण कुमारले टोलीका लागि १२ रनको योगदान गरेका थिए । निखिल प्रताप भने शून्य रनमै आउट भएका थिए ।

विकेटकिपर ब्याट्सम्यान मन्थन प्रसाले सात रन बनाएका थिए । कप्तान साहिम हसन पनि तीन रनमै पेभेलियन फर्किएका थिए । तल्लोक्रमका ब्याट्सम्यान जयदेब सिंहले १२ रन जोडेका थिए ।

आठौँ नम्बरका ब्याट्सम्यान समिर अन्सारीले भने टोलीका लागि २४ रनको योगदान गरेका थिए । उनले २२ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काएका थिए ।

शुभम् चौधरी र अमनकुमार शून्य रनमै आउट भए । पार्साका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै केवल २९ रन खर्चिए । पवन सर्राफ, रुपेश सिंह र रंजित कुमारले पनि दुई–दुई विकेट हात पारे । सइफुल्लाह अन्सारीले पनि एक विकेट लिए ।

प्रतियोगितामा नेपालको तीनवटै विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ । यसका अतिरिक्त प्रतियोगितामा भारतका दुई टोली यूपी—११ र वन्डर्स क्लबले पनि भाग लिएका छन् । 

४ महिना अगाडि

प्रतिक्रिया