विश्वकप क्रिकेटमा कसले कति रकम पाए ?

४ बर्ष अगाडि

काठमाडौँ – इंग्ल्यान्डको वेल्समा सम्पन्न १२औँ एकदिवसीय विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको छ । 

सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले विश्वकपको उपाधि जितेको हो । जीतसँगै इंग्लिश टिमले ४० लाख डलर पाएको छ । नेपाली रूपैयाँअनुसार यो ४३ करोड ६० लाख पाएको छ । 

यसैगरी उपविजेताले २० लाख डलर पायो । नेपाली रूपैयाँअनुसार उपविजेता राष्ट्रले २१ करोड ८० लाख प्राप्त गरेको छ । १० राष्ट्र सहभागी विश्वकपको सेमिफाइनलबाट बाहिरिएको अस्ट्रेलिया र भारतले समान आठ लाख डलर प्राप्त गरेका छन् । न्युजिल्यान्डले भारतमाथि १८ रनको जित निकाली दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको थियो । साबिक विजेता अस्ट्रेलियामाथि इंग्ल्यान्डले सात विकेटको जित निकाली चौथोपटक अन्तिम दुई स्थान सुरक्षित गरेको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अनुसार प्रतियोगिताको कुल पुरस्कार धनराशी एक करोड डलर रहेको छ । आइसिसीका अनुसार राउन्ड रोविन लिगमा प्रत्येक खेल जित्ने राष्ट्रले ४० हजार डलर पाएका छन् । राउन्ड रोविन लिगमा भारत र अस्ट्रेलियाले समान सात खेलमा जित निकालेका थिए । यी दुवै राष्ट्रले राउन्ड रोविन लिगमा सर्वाधिक जित निकालेका कारण जनही दुई लाख ८० हजार डलर पाएका छन् । यसैगरी आयोजक इंग्ल्यान्डले ६ खेल जित्दै दुई लाख ४० हजार पाउन्ड हात पारे । राउन्ड रोविन लिगमा दुई खेलमा मात्र जितेको दक्षिण अफ्रिकाले ८० हजार डलर पाएको छ । 

प्रतियोगिताको राउन्ड रोविनमा अफगानिस्तानले एक जित पनि निकाल्न सकेन । राउन्ड रोविन लिग पार गर्ने राष्ट्रले बोनसका रूपमा एक लाख डलर पाएका छन् । एजेन्सी ।

४ बर्ष अगाडि

प्रतिक्रिया