शीतभण्डार निर्माण

मंगलबार, २८ असोज २०७६, ०९ : २४

चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिएको छ । साना किसान सहकारी संस्था लिमिटेडले उक्त गाउँपालिका–४ स्थित कुरिनटारमा सो शीतभण्डार निर्माण गरेको हो । 

केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरेकामा  उक्त  कार्यक्रमबाट रु ३५ लाख र सहकारीको १० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएकोे उक्त लिमिटेडका अध्यक्ष नरबहादुर नेपालले जानकारी दिए ।

स्थानीय किसानले उत्पादन गरेका कृषि उपज फलफूल तथा तरकारी समयमै बिक्री नहुँदा सड्ने तथा बिग्रने भएकाले किसानको मागलाई लक्ष गर्दै शीतभण्डार स्थापना गरिएको उनले बताए । पहिलो चरणमा नमूना तथा परीक्षणका लागि बनाइएको सानो क्षमताको यो शीतभण्डारमा विद्युत् जडान गर्न मात्र बाँकी रहेको र यसलाई चाँडै सञ्चालन ल्याउने तयारी भइरहेकोे   अध्यक्ष नेपालले बताए । 

यहाँका किसानका लागि आवश्यकताको आधारमा शीतभण्डार निर्माण गर्दै लैजाने उनको भनाइ थियो ।  

शीतभण्डार निर्माणपछि कृषक खुशी भएका भएका छन् । कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा अगुवा कृषक हरिबहादुर नेपालले शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई राहत मिल्ने बताए । चितवनको पहाडी भेगमा रहेको इच्छाकामना तरकारी उत्पादनका लागि उर्वरभूमि मानिन्छ । यहाँको तरकारी काठमाडौँ, नारायणगढ तथा पोखरालगायत शहरमा पनि जाने गर्दछ । 

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले कृषि क्षेत्रमा विशेष जोड दिइएकाले शीतभण्डार सञ्चालनका लागि आवश्यक सहयोग गर्ने र किसानलाई अनुदानका कार्यक्रम ल्याइएको जानकारी दिए  । गाउँपालिकाको खेर गइरहेको जग्गामा व्यावसायिक कृषि गरेमा रु एक लाखसम्मको अनुदान दिने कार्यक्रम छ ।

गाउँपालिकाले तीन दुहुना भैँसी पालेमा रु एक लाख र सुन्तला, कागतीलगायत फलफूल खेती गरेमा ५०० सम्म बिरुवा अनुदान दिइनेलगायत कार्यक्रम ल्याउनाका साथै  किसानलाई हातेट्र्याक्टर पनि वितरण गरिसकेको छ ।कृषकलाई विभिन्न चरणमा तालीम प्रदान गरिएको  र यहाँका तरकारी तथा फलफूलका लागि उर्वरभूमि भएकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न विभिन्न योजना ल्याइएको अध्यक्ष गुरुङले बताए । 

मंगलबार, २८ असोज २०७६, ०९ : २४

प्रतिक्रिया