छयानब्बे जना कैदीबन्दी स्थानान्तरण

४ बर्ष अगाडि

कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारिएको छ । 

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार चालू आवमा विभिन्न मितिमा गरी ९६ जना कैदीबन्दीको यहाँबाट स्थानान्तरण गरिएको छ । पछिल्लो पटक कात्तिक ३० गते १२ महिला र पाँच पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको छ । जसमा महिलासँगै एक आश्रित बच्चा पनि रहेको उनले बताए। 

कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको काफ्लेले जानकारी दिए। यसअघि भदौ ५ गते वीरगञ्ज कारागारमा २४, कात्तिक ३ गते मकवानपुरको भीमफेदी कारागारमा ५४ र कास्कीमा एकजना स्थानान्तरण गरिएको थियो । कारागारको क्षमता पुरुषतर्फ २५५ र महिलाको २५ जना रहेको छ । अहिले यस कारागारमा ६३ महिला र ७०९ जना पुरुष रहेका छन् ।

छिमेकी जिल्ला मकवानपुरमा महिला बन्दीगृह नहुँदा र नवलपुरमा अदालत स्थापना भए पनि कैदीबन्दी राख्नका लागि कारागार नहुँदा चितवनमा चाप बढेको उनले बताए। अहिले कारागारमा कैदीबन्दी राख्नका लागिसमेत समस्या पर्ने गरेको र सुताउनका लागि ठाउँसमेत साँघुरो हुँदै गएको छ ।

प्राकृतिक चिकित्सालय स्थापना 

भरतपुर महानगरपालिका–४ मा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । नेट फ्रेस हस्पिटलको नाममा सेवा सञ्चालनमा ल्याइएको हो । प्राकृतिक चिकित्सा विधिबाट बिरामीको उपचार गराइने सो अस्पताल जिल्ला आयुर्वेद अस्पतालसँग १० श्ययाको अनुमति लिई केन्द्रीय सरकारसँगको अनुमति प्रक्रियासँगै सञ्चालनमा ल्याइएको सञ्चालकहरुले जनाएका छन् ।  

अस्पतालका अध्यक्ष गोविन्द हुमागाईं  बिना औषधि प्राकृतिक एवं अन्य प्रविधिबाट बिरामीलाई सेवा दिने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए। हुमागाईंले योग, ध्यान जस्ता आफ्नै मौलिक विधिहरुको स्थापना एवं प्रोत्साहन गर्दै दीर्घरोगको दिगो समाधानका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

यस अस्पतालमा ढाड, कम्मर, गर्धन दुख्ने, युरिक एसिड, बाथ, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिस, पिनास, टाउको दुख्ने, माइग्रेन, एलर्जी दम जस्ता रोगहरुको उपचार हुनेछ । व्यक्तिको नाममा रहेको तीन बिगाह जग्गा भाडामा लिई अस्पताल सञ्चालनमा ल्याइएको हो । तीनजना चिकित्सकसहितको समूहले रु दुई करोड लगानी गरी आवासीय सुविधासहितको अस्पताल सञ्चालनमा ल्याइएको हो ।  

अस्पताल परिसरमा अहिले १६७ जातका जडीबुटी लगाइएको हुमागाईंले जानकारी दिए। भविष्यमा सात प्रदेशमा नै अस्पताल खोल्ने उद्देश्यका साथ यस नेट फ्रेस हस्पिटल सञ्चालनमा ल्याइएको हो । यस अस्पताललाई केन्द्रविन्दु मानी प्रकृतिक चिकित्साको कलेज खोल्ने योजनाका साथ काम अघि बढिरहेको अस्पतालका प्रबन्ध निर्देशक डा भवानचन्द्र ज्ञवालीले जानकारी दिए।

४ बर्ष अगाडि

प्रतिक्रिया