चालु आर्थिक वर्षमा एक अर्ब कर सङ्कलन हुने लक्ष्य

४ बर्ष अगाडि

भूगोलको अनुपातमा बागलुङ जिल्लामा जनसङ्ख्या कम छ । यहाँ पाँच हजार जति व्यावसायिक प्रतिष्ठानहरु छन् । अधिकाँशले कर तिर्छन्  बागलुङ र आसपासका जिल्लामा व्यावसायिक प्रतिष्ठानहरु कमै मात्र खुलेका छन् तर पनि,यहाँका व्यवसायीहरु सहज रुपमा कर तिर्न पाएर उत्साहित छन् ।

आन्तरिक राजश्व कार्यालय बागलुङमा पुगेर आम नागरिक र व्यवसायीले कर तिर्न थालेका कारण चालु आर्थिक वर्ष एक अर्ब भन्दा बढी कर सङ्कलन हुने लक्ष्य राखिएको छ । चालु वर्षको अन्त्यसम्म बागलुङस्थित कार्यालयले यस्तो लक्ष्य राखेको कार्यालय प्रमुख हेमराज सुवेदीले बताए ।

आठ वर्षअघि बागलुङका करदाताहरुले पोखरा पुगेर कर तिर्नुपर्ने बाध्यता थियो । सामान्य कर तिर्न पनि दिन बिताएर पोखरा पुग्नु पर्ने समस्यालाई ध्यानमा राखेर बागलुङमा करदाता सेवा कार्यालय स्थापना गरिएको थियो । उक्त कार्यालयबाट समेत अपेक्षा गरेअनुसार काम नभएपछि गत वर्षको भदौमा बागलुङमै आन्तरिक राजश्व कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापना भएको एक वर्षमै एक अर्ब कर जिल्लाबाटै सङ्कलन हुने अवस्था सिर्जना भयो । नेपाल सरकारले व्यवसायी,जागीरे र कारोबार गर्ने सबैले पान नम्बर लिनुपर्ने व्यवस्था अनिवार्य गरेपछि यो क्रम झन् बढेको छ । गत वर्ष नै लक्ष्यको ४२ प्रतिशत कर सङ्कलन भएको थियो

बागलुङमा चालु आवको पहिलो चार महिनामा मात्र १२ हजार करदाता सूचीकृत भएका छन् । लक्ष्यभन्दा धेरै कर सङ्कलन पनि भैसकेको छ । बागलुङमा १८ हजार ३०० संस्थागत करदाता छन् भने व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या १९ हजार १०० पुगेको छ ।

पोखरा जानुपर्ने बाध्यता हटेर जिल्लाबाटै कर तिर्न पाएपछि सेवाग्राही पनि खुशी छन् । हामीले पोखरा पुगेर कर तिथ्र्यौ, अहिले यहीँ तिर्न पायौं,सिवाइसी सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले भने –कर धेरै तिरेर उत्कृट करदाताका रुपमा पुरस्कृत पनि भयौं । यसअघि पान नम्बर लिन पनि पोखरा जानु पथ्र्यो र धेरैले लिएका थिएनन् ।

सेवाग्राहीमै जागरण आएपछि गत आव ५१ करोडको लक्ष्य राखिएकामा ४२ प्रतिशत बढी सङ्कलन गर्न सकिएको थियो । गत आव ६८ करोड १८ लाख कर सङ्कलन भएकाले चालु आव ४१ प्रतिशत वृद्धि गरेर ९६ करोड ५४ लाख पुर्याउने लक्ष्य लिइएको सुवेदीले बताए

कार्यालयले उक्त लक्ष्यलाई पनि नाघेर एक अर्ब राजश्व सङ्कलन गर्नसक्ने सम्भावना रहेको बताइन्छ । आम नागरिकमा कर तिर्नुपर्छ भन्ने भावना विकास भएकाले लक्ष्यहरु वर्षेनी बढेर गएको उनको ठम्याइ छ । कार्यालयमा चालु आवको पहिलो चार महिनामै पनि ५० प्रतिशतभन्दा बढी कर सङ्कलन भैसकेको छ । चार महिनाका लागि राखिएको २४ करोड ५८ लाख करको लक्ष्यमा ३५ करोड ५ लाख सङ्कलन भैसकेको छ ।

उत्कृष्ट करदातालाई पुरस्कृत गर्ने,सबै स्थानीय तहमा उद्योग वाणिज्य सङ्घको सहकार्यमा कर शिक्षा सञ्चालन गर्ने र साझेदारीमा काम गर्ने अभियान चलाएपछि कर तिर्नेको लर्को लागेको कर अधिकृत सुन्दर श्रेष्ठले बताए । कार्यालय प्रमुखसहित दुई जना कर अधिकृत र अन्य कर्मचारीलाई भ्याइनभ्याई छ । सरकारले कर सङ्कलनको लक्ष्यसमेत बढाएपछि कार्यालयले पनि लक्ष्य भेट्न सक्रियता बढाएको सुवेदीको भनाइ छ ।

हामीले नेपाल बैंक,उद्योग वाणिज्य सङ्घ र सञ्चार क्षेत्रको सहकार्यमा कर शिक्षा र करदातालाई सहजीकरण गराएका छौं,सुवेदीले भने –अहिले देशभरका शाखामध्ये उत्कृष्टमा परिरहेका छौं । बागलुङस्थित कार्यालयमा उद्योग वाणिज्य सङ्घले कर्मचारी खटाएर करदातालाई फाराम भर्न लगाउने र प्रकृयाबारे बुझाउने गर्दैआएको छ । कार्यालयबाट आग्रह भएपछि हेल्प डेक्स राखेर काम थालेका छौं,सङ्घका अध्यक्ष युवराज राजभण्डारीले भने – ‘करदाता र व्यवसायीलाई यसले थप सहयोग मिलेको छ । कार्यालयमा पुगेर व्यवसायीले कर तिर्न सहज भएको उनको अनुभव छ ।

कार्यालयले पनि दुई मिनेटभित्रै सबै प्रकारका फाइल खोज्न सक्ने भएको सुवेदीको दाबी छ । उनले भने –हामीले पोखराबाट सबै फाइल ल्याएका हौं तर, कम्प्युटर प्रविधिबाट दुई मिनेटमा सबै सेवाग्राहीको काम गरिदिन सक्छौं । कर तिर्ने र पान नम्बर लिने काम पनि छोटो अवधिमै पूरा हुने उनले बताए ।

यसअघि नगदमा कर बुझ्ने काम भइआएकामा कार्यालयमै नेपाल बैंकले काउन्टर स्थापना गरिदिएको छ । साउनदेखि सेवाग्राहीले भौचर मात्र बुझाए हुने भएको छ । सेवाग्राहीले दुःख नपाऊँन् भनेर कार्यालयको अनुरोध अनुसार काउन्टर राखेका छौं,नेपाल बैंक लिमिटेड बागलुङका प्रबन्धक दुर्गाप्रसाद अर्यालले भने –काउन्टरले सेवाग्राहीको समय बचत पनि भएको छ ।

बैंकमा लाग्ने भीड पनि काउन्टरले घटाएको छ । कार्यालयले नियमित रुपमा बागलुङ,पर्वत,म्याग्दी र मुस्ताङका सबै स्थानीय तहसम्म कर शिक्षा सञ्चालन गरिरहेको छ । व्यवसाय सञ्चालन गर्नेलाई पान र भ्याटमा दर्ता गर्न जागरुक गराइएको उनले बताए । आर्थिक बर्ष २०७२–७३ देखि तुलनात्मक रुपमा कर सङ्कलन बढ्न थालेकामा कार्यालयको बढुवापछि यो क्रम दोब्बर भएको हो । चालु वर्षदेखि साना व्यवसायीहरुले पनि कर तिर्न थालेका छन् ।     

४ बर्ष अगाडि

प्रतिक्रिया