नेपाल, भारत र बङ्गलादेशका कलाकारद्वारा चित्रमार्फत सिकाइ साटासाट

४ बर्ष अगाडि

नेपाल, भारत र बङ्गलादेशका चित्रकारहरुले एकै ठाउँमा बसेर अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गरी चित्रमार्फत संस्कृति साटासाट गरेका छन् ।

काठमाडौँको नेपाल कला परिषद्मा भेला भएका उनीहरुले प्रत्यक्ष चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान गरेका हुन् ।
 
भारतबाट सहभागी ११, बङ्गलादेशबाट १० र नेपालका पाँच कलाकारका ६० भन्दा बढी चित्र प्रदर्शनीका क्रममा उनीहरुले शनिबार ‘कला डेमोस्ट्रेसन’ मार्फत एकअर्कामा सिकाइ हस्तान्तरण गरेका हुन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा उक्त कार्यक्रम भएको थियो ।

समाजका अध्यक्ष एनवी गुरुङले कुनै पनि चित्र सम्बन्धित देशको प्रतिनिधित्व गर्ने प्रमुख माध्यम हुने भएकाले कलाकारलाई एकअर्काको संस्कृति बुझ्न र सिक्न सजिलो होस् भनेर कार्यक्रम आयोजना गरिएको बताए ।
  
उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत चित्रकला विभाग प्रमखु बुद्धि गुरुङ, कलाकार डिबी राई र दीपेन्द्रमान बनेपाली सहभागी थिए । भारतबाट अमलेस मजुम्दार र बङ्गलादेशबाट असन अहमद सहभागी थिए ।

नेपाली कलाकारले नेपालको सम्पदा, रहनसहन र पर्यटकीय क्षेत्रलाई आधार मानेर जलरङमार्फत कला सिर्जना गरेका थिए । भारतबाट मजुम्दारले कल्पनामा आधारित ग्रामीण बस्ती र बङ्गलादेशका अहमदले आफ्नै देशको पदमार्गमा रहेको मन्दिरसहितको दृश्यलाई उतारे ।

यसरी सामूहिक चित्रकला कार्यशाला हुँदा नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने र पुराना कलाकारलाई एकअर्कामा अनुभव साटासाटको अवसर मिल्ने कला प्रदर्शनीमा भारतबाट सहभागी कलाकार अङ्कित देवा भौमिकले बताए ।

उनले काठमाडौँ कलाका दृष्टिकोणले अति नै सुन्दर भएकाले भारतका कलाकारले पशुपतिमा पुगेर पनि कला सिर्जना गरेको र आज आइतबार नगरकोट र भक्तपुरमा पुगेर चित्र बनाउने प्रतिक्रिया दिए । केही बङ्गलादेशी कलाकार भने कला सिर्जनाका लागि पोखरा गएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया