काठमाडौं। बुक बिल्डिङ्ग प्रक्रिया मार्फत रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो।
कम्पनीले आज माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।
कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो। कम्पनीको शेयरमा माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।
कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँड गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र नगरिने कम्पनी जनाएको छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया