प्लास्टिकका हस्तकला सामान

२ महिना अगाडि

भरतपुर महानगरपालिका–९, शोभा थापामगर अहिले प्लास्टिकको ढकिया, चकटी, गमलालगायतका हस्तकलाका वस्तु बनाउनुहुन्छ । “यो चाउचाउको खोलको गमला हो । यसमा प्रयोग भएको टल्कने चिज धेरै समय सम्म नहट्ने रहेछ,” प्लास्टिकको गमला देखाउँदै उहाँले भन्नुभयो, “हामीले बनाएका हस्तकलाका समान अहिले महानगरभरि हुने विभिन्न कार्यक्रममा मायाको चिनो दिन प्रयोगमा ल्याइएका छन् ।”

 

“अर्काको कुरा काटेर घर घर हिँडिराख्नुभन्दा त फोहोरमा जाने प्लास्टिकको पनि सदुपयोग हुने गरी हस्तकलाका समान बनाएरै बिक्री गर्दा थोरै भए पनि आम्दानी हुने देखिन्छ,” उहाँले भन्नुभयो । हस्तकलाका सामानको बजार राम्रो हुन सके आफूहरूको काम व्यावसायिक हुने उहाँको भनाइ छ ।  “हाम्रो घरमा पहिले पहिले महिनामा दुई बोरासम्म प्लास्टिकका फोहोर निस्कन्थ्यो । अहिले त मैले कत्ति पनि फाल्दिन । सबै फोहोर सदुपयोग गरिरहेको छु,” उहाँले भन्नुभयो । प्लास्टिकको  हस्तकलाका समान बनाएर कति आम्दानी हुन्छ भन्ने उहाँले खुलाउन चाहनुभएन तर यसले घरखर्च टरेको उहाँको भनाइ छ । घरमा आएका प्लास्टिकका झोलालाई समेत भाँडा माझ्ने साबुनसँग साट्ने गरेको पनि उहाँले जनाउनुभयो । “फोहोरबाट मोहोर कमाउने भनेको यही रैछ एक किलो प्लास्टिकबाट १० रुपियाँको साबुन त पाएका छौँ,” उहाँले भन्नुभयो । 

मिलन सचेतना महिला समूहका अध्यक्ष लक्ष्मी सापकोटा प्लास्टिकबाट हस्तकलाका समान बनाउनुका साथै अहिले सञ्चालनमा रहेका सुइरो अभियानलाई सार्थक बनाउन सके मात्रै पनि फोहोरको उत्पादन घटाउन सकिने बताउनुहुन्छ । “सबैले प्लास्टिकजन्य फोहोर व्यवस्थापन मेरो पनि जिम्मेवारी हो भन्ने सोचेर काम गर्ने हो भने यसको व्यवस्थापन चुनौतीपूर्ण छैन । यसले आम्दानीको बाटो पनि खोल्छ,” उहाँले भन्नुभयो । अझै चितवनमा यस्ता प्लास्टिकका वस्तुहरूलाई सङ्कलन गरी प्रशोधन गरेर प्लास्टिककै कच्चा पदार्थ दाना उत्पादन गर्ने कार्यसमेत सुरु भएको छ । युरोपियन युनियनले प्लास्टिकजन्य वस्तुको प्रशोधनबाट प्लास्टिकका दाना उत्पादन गर्ने गरी ‘ग्रिन सिफ्ट परियोजना’ समेत सुरु गरेको छ । भरतपुर महानगरसहित नेपालभरिका नौ वटा नगरपालिकाका सुरु भएको यस परियोजनाले प्लास्टिकरहित पर्यावरण बनाउने उद्देश्य राखेको परियोजनाकी व्यवस्थापक प्रकृति कोइरालाले जानकारी दिनुभयो । 

“अहिले हामीले प्लास्टिकका बोतल, झोलालगायतका वस्तुलाई जम्मा गरी पोखरा र भैरहवाको अम्बुवामा रहेको उद्योगमा लगेर प्लास्टिकको ‘पेटसार’ (प्लास्टिकको कच्चा पदार्थ दाना बनाउन आवश्यक रमेटियल्स)  बनाइने गरिएको छ,” उहाँले भन्नुभयो । यही पेटसारलाई छिमेकी देश भारतमा लगेर दाना बनाउने गरिएको छ । प्लास्टिक व्यवसायी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष राजेन्द्र वली दाना नै नेपालमा बनाउन सक्ने हो भने त अझै अहिले भारतबाट प्लास्टिकको कच्चा पदार्थ आयातमा खर्चेको अर्बौ रुपियाँ नेपालमै बचाउन सकिने तर्क गर्नुहुन्छ । “नेपालमै प्लास्टिकको पेटसार बनाउने काम निजी क्षेत्रबाट सुरु भएको छ यो पनि राम्रो काम हो । अझै वातावरणमा भेटिएका प्लास्टिकलाई सदुपयोग गरेर पेटसार बनाउनु चुनौतीपूर्ण काम हो,” उहाँले भन्नुभयो । दाना बनाउने  फ्याक्ट्री नै निर्माण गर्न भने धेरै नै खर्चिलो भएको उहाँको भनाइ छ । क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्र अहिले पनि नेपालमा २० हजार मेट्रिक टनभन्दा बढी प्लास्टिक वातवरणमा आइरहेको बताउनुहुन्छ । जसमध्ये परियोजनाले अहिले मासिक चार सय मेट्रिक टन प्लास्टिक सङ्कलन गरेर प्रशोधनका लागि पठाउने गरेको छ । क्रिएसन नेपाल प्लास्टिकको पेटसार बनाउने परियोजनाको साझेदार संस्था हो । “हाम्रो उद्देश्य भनेकै प्लास्टिकका वस्तु वावातरणमा जान रोकेर सन् २०४५ सम्ममा नेपाललाई कार्बन उत्सर्जनमा जिरो बनाउन सहयोग गर्ने हो । जसलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता जनाएको छ,” उहाँले भन्नुभयो । परियोजनाले प्लास्टिक सङ्कलनका लागि जनचेतन जगाउन नौ वटा नगरपालिकाका ३६ वटा विद्यालयमा विद्यार्थीका लागि केन्द्रित विभिन्न कार्यक्रमसमेत तय गरेको छ ।   
 

२ महिना अगाडि

प्रतिक्रिया