नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

१ महिना अगाडि

काठमाडौँ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । हेटौँडा–१० स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो । 


यसअघि यातायात कार्यालय काठमाडौँ, ठुलो भर्‍याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले  पक्राउ गरेको र काभ्रे जिल्ला ल्याइँदै गरेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खडकाले जानकारी दिए । अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्‍याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए ।


उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा रहेका थिए । दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो । उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेको थियो ।

१ महिना अगाडि

प्रतिक्रिया