जापानी अर्थतन्त्र आर्थिक मन्दीमा फस्नबाट जोगियो

१ महिना अगाडि

काठमाडौँ - जापानी अर्थतन्त्र आर्थिक मन्दीमा फस्नबाट जोगिएको छ । संशोधित तथ्यांकअनुसार एक वर्ष अघिको सोही अवधिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा जापानको अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशतले बढेको छ । योसँगै अर्थतन्त्र प्राविधिक मन्दीमा जानबाट जोगिएको छ ।


गएको महिना सार्वजनिक भएको प्रारम्भिक तथ्यांकले भने अर्थतन्त्र लगातार दोस्रो त्रैमासमा पनि खुम्चिएको देखाएको थियो । लगातार दुई त्रैमास सम्म अर्थतन्त्र खुम्चिनुलाई अर्थशास्त्रको भाषामा आर्थिक मन्दी भनिन्छ । तर पनि संशोधित तथ्यांक अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा चाँहि कम हो । संशोधित तथ्यांकले चौथो त्रैमासमा अर्थतन्त्र करिब १ प्रतिशतले बढेको देखाउन सक्ने अनुमान गरिएको थियो । डिसेम्बर त्रैमासमा कम्पनीहरूले आ–आफ्नो व्यवसायमा गरेको लगानीको आकार उच्च रहेको गएको हप्ता अर्थ मन्त्रालयले प्रकाशित गरेको तथ्यांकले देखाए पछि अर्थतन्त्र मन्दीमा जानबाट जोगिएको आशा बढेको थियो । हालैका त्रैमासहरूमा जापानको आर्थिक वृद्धिदर असमान देखिएको छ । छिमेकी चीनको अर्थतन्त्रमा आएको सुस्ती र घरेलु कार निर्माता कम्पनी दाइहात्सुको उत्पादन रोक्ने आदेशका कारण चालु त्रैमासमा जापानी अर्थतन्त्र पुनः खुम्चने अनुमान गरिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया