९८ प्रतिशत घरपरिवारको भान्साघरमा आयो नुनको प्रयोग

शनिबार, ०३ चैत्र २०८०, १७ : ३४

काठमाडौँ - साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको वीरगन्ज कार्यालयका अनुसार दुई वर्षयता ४ जिल्लाका ९८ प्रतिशत घरपरिवारको भान्साघरमा आयो नुन  हुँदै आएको छ । 

कार्यालय प्रमुख अमोज लामिछाने ५ वर्ष यताको आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा सचेतना अभियानको परिणामस्वरुप अधिकांश घरधुरीको पहुँचमा आयोडिनयुक्त नुन पुगेको बताए । आव २०७९र०८० मा १२ हजार ८ सय ५६ टन र चालु आवको ८ महिनाको अवधिको खपत हेर्दा यस वर्षको अन्त्य सम्ममा १२ हजार ९ सय टन आयोनुन खपत हुने छ । बिगतमा सीमावर्ती नेपाली गाउ तथा बजारहरुमा भारतीय नुनकै बर्चश्व रहेकोमा पछिल्लो केही वर्ष यता नेपाली नुनले भारतीय नुनलाई बिस्थापित गर्दै गएको र २र३ वर्ष भित्र शतप्रतिशत नेपाली भान्सा घरमा नेपाली नुननै प्रयोग हुने लामिछाने दाबी गर्छन् ।‘यो हाम्रो निरन्तरको प्रवर्द्धन तथा सचेतना अभियानकै नतिजा हो,’ उनले भने, ‘बिस्तारै भारतीय नुन बिस्थापित भइ नेपाली आयोडिनयुक्त नुन घरघरमा पुगेको छ ।’ उनले नेपाल सरकारले सन् २०२२ मा गरेको एनडिएएस सर्भेले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने ५ वर्षमुनिका बालबालिकाको संख्या पनि करिब ९८ प्रतिशत पुगेको छ । कार्यालयको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८र०७९ मा मधेश प्रदेशका ४ जिल्लामा १२ हजार ७ सय ६४ टन आयोनुन खपत भएको थियो ।


गलगांड (कण्ठरोग) नियन्त्रण गर्न, मानसिक र बौद्धिक क्षमताको विकास लागि, लाटो लठेब्रोपन नियन्त्रण गर्न, पुनरुत्पादन क्षमताको वृद्धी गर्न र बाल मृत्यु दर घटाउन आयोडिनयुक्त नुन प्रयोग गर्नु आवश्यक रहेको उनले बताए । नेपालको भौगोलिक बनौटका कारण माटो पानीमा आयोडिन नपाउने हुदा नूनमा आयोडिन मिसाएर बिक्री बितरण गर्ने गरिएको उनले बताए ।आयोडिनको कमी भएर शारीरिक वा मानसिक रुपमा विकृति देखा परिसकेपछि त्यसलाई कुनै उपचारबाट हटाउन सम्भव छैन । कुनै पनि व्यक्तिले गर्भावस्थादेखि उमेरको अन्तिम क्षणसम्म एक सानो चिया चम्चा बराबर मात्र आयोडिन खानु पर्ने हुन्छ । तर उक्त आयोडिन एकै दिन नखाई प्रत्येक दिन थोरै थोरै जीवनभर खानुपर्ने हुन्छ । मानिस लगायत पशुपन्छि सबैलाई आयोडिन आवश्यक हुने उनले बताए । बिशेष गरी गर्भवति महिलाले दैनिक रुपमा आयोडिनको सही मात्रामा प्रयोगले गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत गर्छ । बालबालिकाको दिमागको ८० प्रतिशत वृद्धी गर्भावस्थाको १२ साता देखि २ वर्ष भित्र हुने हुदा आयोडिनको कमीले शारीरिक र मानसिक विकासमा क्षति तथा गडबडी ल्याउँछ ।
 

शनिबार, ०३ चैत्र २०८०, १७ : ३४

प्रतिक्रिया