‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ को बजेट ‘फ्रिज'

१ महिना अगाडि

काठमाडौँ - ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रमको बजेट फ्रिज हुने भएको छ । सरकारले यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा २४ करोड रकम बजेट विनियोजन गरेको छ ।

सरकारले सो कार्यक्रमका लागि निकास गरेको बजेट संघ अन्तर्गत २३ वटा अस्पतालका लागि नपुग्ने, करिब ३ अस्पतालमा यो कार्यक्रमका लागि आह्वान गरे पनि चासो नदिएकाले कार्यक्रम लागु हुन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । कार्यक्रम नै लागु नभएका कारण बजेट फ्रिज हुने भएको हो । मन्त्रालयका अनुसार संघ अन्तर्गत २३ वटा स्वास्थ्य संस्था छन् । ती अस्पतालमा समेत यो कार्यक्रम लागु हुन नसकेको प्रवक्ता उनले बताए । उनले भने, ‘वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल प्राथमिकतामा परेका थिए, यी अस्पतालमा लागु गर्ने भनिएको थियो तर सम्बन्धित अस्पतालले चासो नदिएपछि बजेट निकासा गर्न सकिएन ।’यो कार्यक्रम घोषणा भएको वर्षमा केही महिनाका लागिमात्रै मन्त्रालयले बजेट निकासा गरेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी सूचना अधिकारी रनु थापाले बताइन् ।

‘एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रमका लागि २०७७\०७८ तिर एक महिनाका लागि बजेट आयो,’ उनले भनिन्, ‘सो एक महिना चिकित्सकले अरु अस्पतालमा काम गर्नुभएन तर पछि बजेट आउन छोड्यो । त्यो कार्यक्रम लागु पनि हुन सकेन ।’चालु आर्थिक वर्षमा सो कार्यक्रमबारे आफूलाई जानकारी नआएको थापाले सुनाइन् । नेपालको सरकारी स्वास्थ्य संस्थामा यो कार्यक्रम लागु गर्न सम्भव नरहेको नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा। अनिल कार्कीले बताए । ‘जबसम्म वैज्ञानिक अध्ययन हुँदैन तबसम्म यो नारामा मात्रै सीमित हुन्छ,’ उनले भने, ‘सरकारी निकायमा लागु हुन सम्भव छैन ।’ डा. कार्कीले चिकित्सकले काम गर्ने समय र सेवासुविधाको अध्ययन हुनुपर्ने उल्लेख गरे । ‘चिकित्सकका लागि दरबन्दी थप्नु प¥यो, सामाजिक सुरक्षा हुनु प¥यो, कति घण्टा काम गर्ने, एक्स्ट्रा काम गरेको कति पारिश्रमिक हुनेजस्ता विषयमा अध्ययन हुनु प¥यो ।’‘एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था (कार्यक्रम सञ्चालन) कार्यविधि, २०७७’ अनुसार यो कार्यक्रम लागु भएको अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अरु अस्पतालमा काम गर्न नपाउने उल्लेख छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया