सुहाङको संसद यात्रा : चुनौति र अवसर

२ हप्ता अगाडि

काठमाडौं – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको कान्छो छोराका रुपमा जन्मेका सुहाङ नेम्वाङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बनेदखि नै चर्चाको शिखरमा रहे ।   इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु  भएको छ । 
एमालेले इलाम –२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनका बुवा सुवासको मृत्यु भएपछि रिक्त रहेको सो क्षेत्रमा उनलाई उम्मेदवार बनाएको थियो । 

आफ्ना निकटतम प्रतिद्वन्दी  नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गरेका थिए । 

सुहाङ विसं २०४६ फागुन ६ गते काठमाडौँमा जन्मेका थिए । उनकी आमा विशाल नेम्वाङ  हुन ।  काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी)उत्तीर्ण गरेका हुन । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गए । 
स्वदेश फर्केर उनले काठमाडौँ स्कूल अफ लबाट कानुन सङ्कायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौँको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी  वकालत गर्दै आएका थिए ।

सुहाङ खेलकूदमा रुचि राख्थे । उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे । पछिल्लो समय उहाँ सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन् । 

बुवा सुवास कानुन व्यवसायी मात्र नभएर राजनीतिमा पनि क्रियाशील नै थिए । विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिलाई परिवारबाटै  बुझ्ने अवसर पाएका थिए । । सुहाङले यसअघिसम्म कुनैपनि निर्वाचनमा मतदान समेत गरेका थिएनन् । आफ्नै बुबा उम्मेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाएका थिएनन् । 

टिकट पाउनु मात्र ठूलो कुरा थिएन । पहिलेकै गठबन्धन भएको भए उनलाई सांसद बन्न त्यति सजिलो थिएन । उनलाई  सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाएका हुन् ।

परिस्थितिले राजनीतमा तानेकासुहाङ आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउछन् । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उनको भनाइ छ । 


 

२ हप्ता अगाडि

प्रतिक्रिया