‘जीवित देवता’का रुपमा नवदुर्गा देवगण जात्रा मनाइँदै

१ महिना अगाडि

काठमाडौँ - काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पर्यटकीय नगर धुलिखेलमा ‘जीवित देवता’का रूपमा पुजिने नवदुर्गा देवगण ङालाकेगु जात्रा ‘माछा मार्ने जात्रा’ मनाइँदै छ । सोमबारदेखि सुरु भएको सो जात्रा हर्षोल्लास पूर्वक आज मध्यराति समापन हुनेछ ।

परापूर्वकाल देखि मनाइँदै आइएको सो जात्राको किंवदन्ती अनुसार धुलिखेलको मुख्य बजारमा माछा मार्ने जात्रा सकिए लगत्तै नवदुर्गा देवगण श्रीखण्डपुर र चौकोट जाने कार्यक्रम हुन्छ । प्रत्येक वर्ष युवा–विद्यार्थी स्वास्थ्य लाभ र ज्ञान लाभका लागि नवदुर्गा देवगणको आशीर्वाद लिन तथा सेवा गर्न ङालाकेगु जात्रामा उपस्थित हुने गर्दछन् । धुलिखेल नगरपालिकाले नवदुर्गा जात्राका अवसरमा आज स्थानीय पर्वका रुपमा बिदा समेत दिएको छ ।धुलिखेलका स्थानीय नवदुर्गा देवगणबाट मुख्य प्रसाद गोका–पञ्चरङ्गी धागो, मोहनी–कालो टीका, पासुका–तीनरङ्गी धागो ग्रहण गरी आफ्नो क्षमताअनुसार दक्षिणा चढाएर देवगणको सेवा गर्ने परम्परा रहेको बताइएको छ । धुलिखेलका स्थानीय नयाँ घर निर्माण गर्दा र नयाँ व्यापार व्यवसाय सुरु गर्दा नवदुर्गा देवगणलाई स्वागत गरी पूजापाठ गर्नाले घरमा शान्ति, सुख र व्यापारमा सफलता मिल्ने जनविश्वास रहिआएको छ ।यस्तै जात्रामा भक्तजनको भौतिक र आर्थिक सहयोगका कारण देवगणको ऋण चुक्ता हुने गरेको भनाइ छ ।

तत्कालीन सरकारद्वारा धुलिखेल गाविसलाई नगरपालिका घोषणा गरेको वर्षमा नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु ‘ठूलो भोजन ग्रहण’ गराइएको नगरप्रमुख अशोक ब्याञ्जुले बताए ।उनका अनुसार धुलिखेलका नागरिक नवदुर्गा देवगणलाई आफ्नो कुल देवताका रूपमा पुज्दै आएका छन् । धुलिखेलको मुख्य पर्व र जात्राका रूपमा नवदुर्गाको ङालाकेगु जात्रालाई लिइने ब्याञ्जू बताउछन् । उक्त जात्रामा नवदुर्गा देवगणलाई नगर कार्यालयका तर्फबाट हरेक वर्ष पञ्चबली, पोशाक, भाले कुखुरा, अण्डा खुवाउने, किस्ली चढाउने र मुःबाहाँ ‘सुँगुर’ बली दिने गरिन्छ । ऐतिहासिक यस जात्रालाई दीर्घकालीनरुपमा सञ्चालन गर्न, जात्रा सभ्य र सुरक्षित सञ्चालन गर्न एवं स्थानीय कला र संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले समन्वय गरिरहेको नगर प्रमुख ब्याञ्जूले बताए । काभ्रेपलाञ्चोकको नाला, बनेपा, श्रीखण्डपुर, चौकोट, पनौतीलगायतका स्थानमा नवदुर्गा देवगणको जात्रा मनाइँदै आइएको छ । जात्रामा मानव समाजमा हुने पारिवारिक महत्व, नारी क्रोध, दाम्पत्य जीवन, बाल्यपनको चकचके स्वभाव, चेली दुखेसो, सरसफाइ शिक्षा, सामूहिक भावना तथा लक्ष्य, शाकाहारी÷मांसाहारी, नारी सुन्दरता, मायाप्रेम, सम्मान, असत्यमाथि सत्यको विजय, पञ्च रङ्गको महत्व आदि विषयवस्तु प्रस्तुत गरिन्छ । बाजाको ताल र गीतको बोलमा यस जात्रामा नाङ्गो खुट्टामा नाच तथा नाटकीय शैलीमा प्रदर्शन हुने गर्छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया