आठ मिटरभन्दा कम चौडाइ भएका सडक मर्मत गर्नुपर्दा महानगरको स्वीकृति लिनुपर्ने

४ हप्ता अगाडि

काठमाडौं- आठ मिटरभन्दा कम चौडाइ भएका काठमाडौंका सडक मर्मत गर्नुपर्दा अबदेखि काठमाडौं महानगरपालिकासँग अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने भएको छ ।

आज बिहीबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको पूर्वाधार समन्वय बैठकले यस्तो निर्णय गरेको हो । ‘बैठकले आठ मिटरभन्दा कम चौडाइ भएका सडक निर्माण वा मर्मत गर्दा काठमाडौँ महानगरपालिकासँग सहमति तथा स्वीकृति लिनुपर्ने, उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार प्राधिकरणलगायत पैदल मार्गमा काम गर्नु पर्ने निकायले खन्नुअघि महानगरपालिकासँग सहमति लिनु पर्ने निर्णय गरेको छ,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने ।

उनका अनुसार आजको बैठकमा विभिन्न ११ वटा विषयमा छलफल तथा निर्णय भएका छन् । जस अनुसार सडक विभाग र महानगरपालिकाको समन्वयमा खाल्टाखुल्टी पुर्नुपर्ने, वडा नं। ६ कपनमा रहेको चकुञ्चा खोलामा काठे पुल र पर्खाल बनाउने, खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र नेपाल विद्युत् प्राधिकरणले खनेका सडक तत्काल निर्माण गर्ने, महानगरपालिकाभित्रका पोखरीमा खानेपानी लिमिटेड, कार्यान्वयन निर्देशनालयले पानी उपलब्ध गराउनेलगायत छन् ।


यस्तै, आजको बैठकले काठमाडौंको पूर्वाधार विकासमा समन्वय गर्न ‘अन्तर निकाय समन्वय कार्यविधि’ तर्जुमा गर्ने र सो को कार्यविधि निर्माणका लागि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति समेत गठन गरिएको छ । समितिमा महानगरपालिका, सडक विभाग, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रतिनिधि रहने छन् ।


पूर्वाधार निर्माणका काममा आपसी समन्वय गरेर सडकलगायत संरचनामा गर्नु पर्ने काम एकै पटक गर्न विकास साझेदार कार्यालयका बिचमा बैठक बस्ने गरेको छ । यसलाई दीगो बनाउन कार्यविधि तर्जुमा गर्न लागिएको महानगरले जनाएको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया