अर्थतन्त्र संकटमा नरहेको प्रधानमन्त्रीको दाबी

४ हप्ता अगाडि

काठमाडौं – अर्थतन्त्रका बारेमा विभिन्न नकारात्मक टिकाटिप्णी भैरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन्। मुलुकको अर्थतन्त्र संकटमा नरहेको दाबी गर्दै उनले अर्थतन्त्र सुधार भैरहेको बताए।

 शुक्रवारबाट हेटौंडामा सुरु भएकोनेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रमा धेरै सुधार भैसकेको दाबी गरेका हुन्।

स्रोत सुनिश्चितता नभएको आयोजनालाई अब टुङ्ग्याइने भन्दै उनले भने, ‘सार्वजनिक खरिद् नियमावलीको संशोधनले पनि राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन।’ उनले थपे, ‘ऐन संशोधन गरी पूर्वाधार विकासको कामलाई तीव्रता दिनेछौँ।’

संसद्मा सरकारको बजेट सम्बन्धी सिद्धान्त र प्राथमिकता प्रस्तुत भैसकेको र बजेट, नीति कार्यक्रमको तयारीमा रहेकोले निर्माण व्यवसायीको साधारणसभाबाट उठेका विषयलाई समेत समेट्ने उनले आश्वासन दिए।

प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीमैत्री कानुन निर्माण र सार्वजनिक खरिद नियमावली संशोधन गरिने भन्दै कानूनलाई विकास मैत्री बनाउने पनि बताए। साथैे कर्मचारी र निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी रहेको प्रधानमन्त्रीको सुझाव थियो।

सम्झौता बमोजिमको काममा गुणस्तरीयता कायम गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्दै अन्यथा भए कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत प्रधानमन्त्रीले दिए।

उक्त अवसरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद् ऐन संशोधन गरी निर्माण उद्योगमैत्री बनाउनुपर्ने माग राखे। राज्य निर्माण उद्योगमैत्री नहुँदा समस्या भएको जानकारी गराउँदै उनले निर्माण क्षेत्र चलायमान नहुँदा मुलुक आर्थिक संकटमा रहेको दावी गरे।

 शनिबारसम्म चल्ने साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेन पेश हुनुका साथै निर्माण क्षेत्रमा रहेको समस्या र भावी रणनीतिको विषयमा घोषणापत्र समेत जारी हुने संघ मकवानपुर अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए।

४ हप्ता अगाडि

प्रतिक्रिया