काठमाडौं - गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबिच भेटवार्ता भएको छ ।
आज सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवम् गृहमन्त्री लामिछानेसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा उनीहरूबिच धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोतसाधनको माग लगायत लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ । प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधनको माग गरेका छन् । छलफलको क्रममा कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो गरे ।
साम्पाङले राखेका गुनासोमा आफू गम्भीर भएको बताउँदै सम्बोधन प्रक्रिया सुरु गर्न उपप्रधान एवम् गृहमन्त्री लामिछानेले कर्मचारीलाई निर्देशन समेत दिएका छन् । यस्तै, भेटमा देशभरि नै लागु औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि आफूले पहल गरिरहेको गृहमन्त्री लामिछानेले बताए । नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर त्यसविरुद्ध कारबाही चलाउन कानुन नरहेकोबारे प्रमुख साम्पाङद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण समेत गरिएको छ । यस्ता खालका प्रवृत्ति नियन्त्रणका लागि तीनै तहका सरकारबिच प्रभावकारी सहकार्य सहित विशेष अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रीको भनाइ छ । त्यसैक्रममा आफूले धरानमा हरेक शुक्रबार ‘सुधारबार’ भनेर अभियान गरिरहेको प्रमुख साम्पाङले जानकारी गराए ।
प्रतिक्रिया