काठमाडौं महानगरमा  स्काभेटर चलाउने प्रभु शाहको धम्कि

३ हप्ता अगाडि

 
काठमाडौ – आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले काठमाडौंमा सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति नगराईए काठमाडौं महानगरमा आफ्नो स्काभेटर चलाउने चेतावनी दिएका छन् । जनआन्दोलन दिवसको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित बृहत्त जनप्रदर्शनसहितको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित यस्तो चूनौति दिएका हुन् । बालेनले सुकुम्बासी र कवाड व्यवसायीहरुमाथि धरपकड गरेपछि प्रभु साहको यस्तो आक्रोश पोखिएको हो । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेलाई काठमाडौंमा गरिखाने वर्गलाई सुरक्षा नदिईए आाफूले त्यसको प्रतिकार गर्ने र उत्पन्न परिस्थितिको जिम्मा पनि राज्यले नै लिनुपर्ने खुला चूनौति दिए । 

साहले आजबाट तेस्रो जनआन्दोलनको शंखानद भएको पनि घोषणा गरे । उनले भने,‘जनआन्दोलन दिवस हो । तपाईंहरुलाई साक्षी राखेर हामी सहीदहरुको सपना साकार पार्ने प्रण गर्दछौं । मुलुकमा पहिलो र दोस्रो जनआन्दोलन भैसकेको छ । आज तेस्रो जनआन्दोलनको उद्घोष हो । यो लुटकारी दलतन्त्रको खारेजीको लागि यो तेस्रो जनआन्दोलनको उद्घोष हो । नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ । जनआन्दोलन पार्टी र जनता मिलेर गरिएको थियो । नेताहरुले व्यवस्थामाथि बेइमानी गरे । जनता लाचार र निरीह भए । देशमा पार्टीको सिण्डिकेट भएको छ । जनता लाचार भएर बस्ने लोकतन्त्र हामीलाई चाहिएको छैन् ।’

उनले जनआन्दोलन गर्दा नेपालबाट राजाको शासन हटाएर जनताको शासन हुने भनिएको भएपनि राजसंस्था हट्दा पनि देशमा जनताको असली शासन नआएको टिप्पणी गरे । उनले भने,‘यो देशमा त नेता र पार्टीको लागि मात्रै लोकतन्त्र भयो । आजपनि देश जहाँको त्यहीँ छ, नेपाली जनताको बलमा यो देशमा हरेक नयाँ किर्तीमानी खडा भएको छ । हामी जनताकै बलामा यो देशलाई नयाँ उचाई दिलाउनेछौं । म भन्न चाहन्छु–आज नेपालमा शासकहरुले जुन ढंगको संस्कृति र माहोल निर्माण गर्दैछन्, जनता निराश छन् । चिन्तित छन् । हामी निराशामा रहेका जनतालाई माथि उकास्न चाहन्छौं ।’

अध्यक्ष साहले आफू नेतृत्वको पार्टी आजपाको स्थापनाको एक वर्षमात्रै व्यतित भएको स्मरण गराए । उनले भने,‘हाम्रो पार्टी स्थापना भएको एक वर्ष भयो, यो पार्टी अझैपनि शिशु अवस्थामा नै छ । हाम्रो पार्टीले दलतन्त्र र लुटकारी व्यवस्था हटाउने भनेर उद्घोष गरेको छ । आन्दोलनको नेतृत्व गरेको छ । यसमा हामीलाई गौरवको अनुभुति भएको छ । विदैशिक ठग, भ्रष्टाचारीहरु, भगौडा दलाल वर्ग, लुटकारी कर नीतिको विरुद्धमा हामीले नेतृत्वदायी रुपमा आन्दोलन गरेका छौं । हामीले किसानको पक्षमा, मदरसा शिक्षा, समान शिक्षाको लागि अनि दलित आवास र रोजगारीको लागि लडेका छौं । किसानको सम्मान र पेन्शनको लागि लड्दै आएका छौं । गौर हत्याकाण्डा पीडितको पक्षमा लडिराखेका छौं । आरती साहको न्यायको लागि अनि दिलिप महतोको न्यायको लागि पनि लडेका छौं । कवाड व्यवसायीहरुको पक्षमा लडेका छौं । आज हामी कवाडीहरुको बीचमा छौं ।’

उनले काठमाडौंमा केही मान्छेले सूर्य पूर्वबाट उदाउँछ भन्ने थाहा हुँदाहुँदैपनि पश्चिमबाट उदाउँछ भनेर भन्ने गरेको उल्लेख गर्दै काठमाडौंमा कवाडीहरुले फोहोर सफा गरेको अवस्थामा उल्टै फोहोर गरेको भनेर यहाँबाट विस्थापित गर्न खोजिएकोमा आक्रोश पोखे । उनले भने,‘यो काठमाडौंमा फोहोर गर्नेहरु सम्मानित हुने अनि फोहोर सफा गर्नेहरु सजायको भागिदार हुनुपर्ने हो रु हामी यो दिन उल्टाउनेछौं । नेपालको पुँजी लुटेर विदेश लैजानेहरु सम्मान हुने अनि यहाँ केही गरौं भनेर आफ्नै देशका नागरिक काठमाडौं आउँदा लखेट्ने प्रवृत्ति अब हामी रहन दिनेछैनौं । श्रमिकहरुको अपमान हुने अनि श्रम चोर, भ्रष्टाचारी र ठगहरु सम्मानित हुने अवस्था बदल्न चाहन्छौं ।’

पूर्वमन्त्री साहले काठमाडौं आम नेपाली जनताको लागि भएको र त्यसमा पनि इमानदार र बहुादुरहरुको लागि भएको उल्लेख गरे । उनले भने,‘यो काठमाडौं गरिखानेहरुको लागि हो । आम बहादुरहरुको लागि हो । अनि ऋषिमुनिहरुको हो । भगवान पुशपतिनाथको हो । तर, अहिले काठमाडौं लुटेराहरुको बनाउन खोजिएको छ । दुनियाँलाई कल्याण गर्नेहरु बस्ने काठमाडौंलाई इमानदार मानिस चाहिएको छ । दुनियाँको कल्याण गर्ने नेतृत्व चाहिएको छ । तर, केही दुष्टले काठमाडौंलाई अर्कै बनाउन चाहेका छन् ।’

साहले देशमा गरिबी बढिरहेको भन्दै त्यसको जिम्मेवारी कसले लिने र त्यसको जवाफ कसले दिने ? भन्दै प्रश्न तेर्साए । उनले भने,‘सुकुम्बासी बनाउने यहाँको शासकहरु होईन ? तिमीहरुको पुर्खाको कुकर्मले यो भएको हो । गरिबी हटाउने होइन गरिब भगाउने भनेर शासकले भनेको छ । हामी भन्छौं गरिबलाई भगाउने होई बरु गरिबी हटाउनुपर्छ । रोजगारी दिन नसक्नेलाई रोजगारी खोस्ने अधिकार कसले दियो ? काठमाडौंको सफाई गर्नेले अब गलत गर्नेहरुको सफाइ गर्नुपर्छ । कवाडीहरुले काठमाडौंको सफाई गरिरहेको छ । शहरको सफाइको लागि कवाड छ । अब कवाड व्यवसायीहरुले तेरो कुकर्मको फोहोर सफा गर्नेछ ।’

साहले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेको नाम नै लिएर गरिखाने वर्गको सुरक्षा नभए काठमाडौंमा आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए । उनले भने,‘प्रधानमन्त्री म भन्न चाहन्छु–सुकुम्वासीको रक्षा हुन्छ कि हुँदैन् । हुँदैन भने प्रभु साह चुप लागेर बस्दैन् । म गृहमन्त्रीलाई सोध्न चाहन्छु–काठमाडौंमा कवाडीहरुको रक्षा हुन्छ कि हुँदैन् । यदि कवाडीहरुको कारखानामा डोजर चल्छ भने महानगरको कार्यालयमा प्रभु साहको स्काभेटर लाग्छ । अब गरिबहरु मात्रै कानून मानेर बस्दैनन् । देशमा राजतन्त्र हटिसकेको छ । ठूलालाई चैन अनि सानालाई ऐन लाग्ने कुरा हुँदैन् । यो उद्घोषसभा हो । यो उपस्थितिले धेरै जवाफ दिईसकेको छ ।’

साहले विगतमा मधेशमा मधेशी र पहाडी जनता भिडाउने शासकहरु अहिले काठमाडौं पसेको र यहाँबाट मधेशी भगाउने काम गर्न खोजेको भन्दै चेतावनी दिए । सम्बोधनकै क्रममा अध्यक्ष शाहले नेपाल विदेशीहरुको क्रिडास्थल बनाइएको भन्दै दलतन्त्रको नाममा राजनीतिक सिण्डिकेट लाद्नेहरुसँग आक्रोश पोखे । उनले भने, ’ आज देश विदेशीहरुको क्रिडास्थल बनाइएको छ । नेपाल आमा रोइरहेकििछन । नेताहरुको कुकर्मले देशको बेइज्जत भएको छ । नेपाल दुनियाँलाई ज्ञान दिने देश हो ।” 
 

३ हप्ता अगाडि

प्रतिक्रिया