आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने , आजै प्रतिनिधिसभा बैठक बस्दै

३ हप्ता अगाडि

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ।

आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जानकारी दिएको छ। उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ ९१०मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रतिनिधिसभाको बैठक आज बस्ने समय तय भएको छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।  

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । त्यसै गरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 यद्यपि गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने बताउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस उनलाई रोष्टममा जान नदिने अडानमा छ । यता उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया