एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक ललितपुरमा बस्दै

१ हप्ता अगाडि

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एमाले को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ ।

दुईदिने उक्त बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी हुने छन् । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा हुने उक्त परिषद् बैठकमा उहाँले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत गरिने छ । प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन् ।   मुलुकको आवश्यकता, जनचाहना अनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न  सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले  दिशानिर्देश गर्ने विश्वास विभाग प्रमुख गौतमले व्यक्त गरे ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया