एमाले प्रतिनिधि परिषद्को  बैठक : प्रतिवेदनउपर माथि समूहगत छलफल

१ हप्ता अगाडि

काठमाडाैं- नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज पेस भएका  प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची समेत रहेको छ ।परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् ।

पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो।

परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ । सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरुको उपस्थिति रहने जनाइएको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया