नोटमा चुच्चे नक्सा राख्ने निर्णयबारे भारतीय विदेशमन्त्रीको तीखो प्रतिक्रिया

१ हप्ता अगाडि

काठमाडौं – नेपाल सरकारले २०७७ मा संसदबाट चुच्चे नक्सा अनुमोदन गरेपछि  सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयबारे भारतले असहमति जनाउँदै प्रतिक्रिया दिएको छ। नेपालले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ जारी गरेको थियो।

भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया दिएका हुन्।
जयशंकरलाई दिल्लीको एक पत्रकार सम्मेलनमा शनिबार नेपालको सो निर्णयबारे प्रश्न सोधिएको थियो।
‘हाम्रो अडान स्पष्ट छ। हामी सीमासम्बन्धी विषयमा स्थापित संयन्त्रमा छलफल गरिरहेका थियौँ। त्यसको बीचमा उनीहरुले एकपक्षीय रुपमा केही कदम चाले। त्यसले हामीबीचको स्थिति र जमिनको यथार्थ बदल्ने छैन,’ जयशंकरले नेपालले जारी गरेको नयाँ नक्सातर्फ समेत संकेत गर्दै भने।

भारतले नेपालको चुच्चे नक्सा जारी गर्ने सो कदमको विरोध गर्दै त्यसलाई नस्वीकार्ने बताएको थियो।

सन् १८१६ को सुगौली सन्धिले काली नदीलाई नेपालको पश्चिमी सीमा मानेको छ। नेपालले सीमा छुट्याउने त्यो काली नदी लिम्पियाधुराबाट निस्केको नदी नै भन्दै आएको छ। तर, भारतले कालापानीमा भारतीय फौज बसेको स्थाननजिकैको सानो खोल्सोलाई काली नदी नामाकरण गरेको छ। 

तर, सो खोल्सो त्यसभन्दा पश्चिमतर्फको जमिन अतिक्रमणका लागि भारतले कृत्रिम रुपमा तयार गराएको नेपाली विज्ञहरुको धारणा छ। 

१ हप्ता अगाडि

प्रतिक्रिया