काठमाडौं - नेपालले चालु आर्थिक बर्ष २०८०\८१ को चैत मसान्तसम्म भारतबाट १० अर्ब ९३ करोड ७८ लाख रुपियाँको विद्युत् आयात गरेको छ । हिउँदका कारण खोलामा पानी कम भएर स्वदेशी उत्पादन घटेपछि नेपाल विद्यत् प्राधिकरणले मंसिर २१ गतेबाट भारतदेखि बिजुली आयात गर्न सुरु गरेको थियो ।
चैत मसान्तसम्म आउँदा झण्डै ११ अर्ब रुपियाँको बिजुली आयात भएको एक सरकारी तथ्यांकले देखाएको हो । साढे ४ महिनाको अवधीमा सो बराबरको विद्युत् आयात भएको हो । गत आवको सोही अवधिको तुलनामा १७।८६ प्रतिशतले कम हो । गत आवको यसै अवधिमा भारतबाट १३ अर्ब ३१ करोड ७२ लाख रुपियाँको विद्युत् आयात भएको थियो । गत आवभर भने १९ अर्ब ९ करोड २१ लाख रुपियाँको विद्युत् आयात भएको थियो ।
समीक्षा अवधीमा नेपालबाट हुने विद्युत् निर्यात भने ४७।४ प्रतिशतले बढेको छ । प्राधिकरणले चालु आवमा साउनदेखि मंसिर २० गतेसम्म भारतमा विद्युत् निर्यात गरेको थियो । त्यसबाट १२ अर्ब ३४ करोड ४१ लाख रुपियाँको विद्युत् निर्यात भएको थियो । यो समीक्षा अवधीमा आयात भएको बिजुली भन्दा पनि बढी हो । साथै, गत आवको समीक्षा अवधीमा ८ अर्ब ४३ करोड ७९ लाख रुपियाँको विजुली निर्यात भएको थियो ।
गत आव भरमा भने १० अर्ब ४२ करोड ९५ लाख रुपियाँको विद्युत् निर्यात भएको थियो । गत आवको विद्युत् आयात निर्यातमा नेपाल घाटामा गएको थियो । यसपाली भने नाफामा जाने प्राधिकरणको विश्वास छ । नेपालमा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना छन् । बर्खामा खोलामा पानी बढी हुदाँ पूर्णक्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यसबेला भारतमा विद्युत् निर्यात गर्ने पुग्छ । तर, हिउँदमा खोलामा पानी कम हुदाँ विद्युत् उत्पादन पनि कम हुन्छ । यसबेला भने स्वदेशी उत्पादनले नपुगेर भारतबाट विद्युत् आयात गर्नुपर्छ । यसपाली हिउँदमा मंसिर २१ गतेदेखि विद्युत् आयात सुरु भएको थियो ।
प्रतिक्रिया