तातोपानी नाकाबाट साढे ४ अर्ब मूल्य बराबरका  विद्युतीय सवारीसाधन आयात

३ हप्ता अगाडि

काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाको तातोपानीबाट साढे ४ अर्ब मूल्य बराबरका १ हजार ४ सय विद्युतीय सवारीसाधन आयात भएको छ। नेपाल चीन बीचको उत्तरी नाका तातोपानीबाट चालु वर्षको १० महिनामाउक्त सवारीसाधनहरु आयात भएको हो । 

जेठको पहिलो साताभित्र मात्रै ५ सय १२ सवारीसाधन नाकाबाट भित्रिएका छन्। यसरी आउनेमा सबैभन्दा बढी ५१ देखि १ सय किलोवाटसम्मका गाडी छन्। त्यसबाहेक विद्युतीय माइक्रो २१ वटा भित्रिएका छन्। नाकाबाट विद्युतीय माइक्रोबस, मिनीबस, जिप, भ्यान, कारजस्ता सवारीसाधनको आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ। चालु वर्षको यस अवधिमा इलेक्ट्रिक र पेट्रोल गाडीको आयातबाट १ अर्ब २५ करोड ३१ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए। पेट्रोल गाडीबाट करिब २२ लाख राजस्व संकलन भएको छ। चालु वर्षको यस अवधिमा एक थान पेट्रोल गाडीबाहेक सबै गाडी इलेक्ट्रिक गाडी आयात भएको केसीले जानकारी दिए।

खरिद र भन्सारमा ल्याउँदासम्मको मूल्यअनुसार भन्सार दरबन्दी कायम गरिएको छ। आयात गरिएका सवारीसाधनको बजार मूल्य ४० देखि ८० लाख रुपैयाँसम्म कायम गरिएको छ। भन्सारका अनुसार ओमोडा, एकजी, डिपाल, सेरिज नामका कार तथा डीएफएसके नामका माइक्रोबस आयात भएका छन्। गत आवमा १ अर्ब ६७ करोड ४४ लाख मूल्य बराबरका सवारीसाधन आयात भएका थिए। त्यसबाट ५ करोड १० लाख राजस्व संकलन भएको थियो। चालु आवमा भने राजस्व संकलन गत वर्षको तुलनामा १ अर्ब नै बढी भएको छ। गत वर्ष २ सय ६० वटा सवारीसाधन मात्र आयात भएका थिए। तीमध्ये १२ वटा पेट्रोल गाडी र ४ वटा लरी थिए। 

चालु वर्षको यस अवधिमा गत वर्षको भन्दा १ हजार बढी इलेक्ट्रिक सवारीसाधन आयात भएका छन्। सवारीसाधनको आयात वृद्धिले आर्थिक वर्ष अन्त्य हुन डेढ महिना बाँकी हुँदै राजस्व संकलन लक्ष्य पूरा भएको छ। चालु वर्षका लागि ८ अर्ब ४२ करोड राजस्व लक्ष्य तोकेकामा उक्त लक्ष्य पूरा भएको भन्सार कार्यालयले जनाएको छ। जेठ १५ मा आउने बजेटसँगै कर बढ्ने डरले व्यवसायीले सवारीसाधनको आयात बढाएको हुनसक्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत बताउँछन्। ‘कर बढ्ने डरले व्यापारीहरुले सवारीसाधन आयातमा वृद्धि गरेको देखिन्छ। सवारीसाधनको अलवा तातोपानी नाकाबाट अन्य अत्यावस्यक सामग्रीको आयातमा पनि वृद्धि भइरहेको छ,’ बस्नेतले भने।

तातोपानी भन्सार प्रमुख केसीका अनुसार चिनियाँ पक्षले नाकाबाट हुने व्यापारलाई पछिल्लो समय सहज बनाउन खोजेको छ। अहिले पनि तिब्बतको खासा क्षेत्रबाट आएका चिनियाँ कन्टेनरले ल्याएका सामान मितेरी पुलपारि नै अनलोड गरिँदै आएको छ। नेपाली कन्टेनर मितेरी पुलपारी गएर सामान ल्याउने गरिएको छ। तातोपानी नाकाबाट सामग्री आयात गर्दा अन्य नाकाबाट भन्दा ढुवानी भाडामा कमी, सीमाबाट काठमाडौं आउजाउको समय बचत, चीनका विभिन्न सहरबाट सीमासम्म सामान ल्याउन लाग्ने कम समयजस्ता कारणले पछिल्लो समय व्यापारीहरू तातोपानीतर्फ आकर्षित हुने गरेका छन्। व्यापारीहरूले नेपाली कन्टेनर सिधै खासा जाने व्यवस्था भएमा बढी सहज हुने बताउँदै आएका छन्।

लक्ष्यभन्दा बढी राजस्व संकलन

भूकम्पपछि लगातर बन्द भएको तातोपानी नाका २०८० वैशाख १८ गतेबाट दुईतर्फी आयात निर्यात शुरु भएसँगै लयमा फर्किएको छ। जसका कारण राजश्व संकलनमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरिसकेको छ।

चालु आवमा पाँच अर्ब ५९ करोड रावश्व संकलन गर्ने लक्ष्य लिएकोमा चैत्र मसान्तसम्ममा आठ अर्ब ५६ करोड राजश्व संकलन भएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जनाए। उनले यस वर्ष १२ अर्ब भन्दा बढी राजस्व उठ्ने विश्वास व्यक्त गरे। नाका पूर्ण रुपमा सञ्चालन भएपछि व्यापार बढेको उनले बताए। पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ। तातोपानीबाट आहिलेसम्म ८ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामाग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन्। कन्टेनर पारी पुगिरहँदा निर्यात थपिँदैछ, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामाग्री आइरहेका छन्,’ काफ्लेले भने। आयातलाई चीनले फराकिलो बनाएसँगै निर्यातमा केही सुधार आएको उनले बताए।

३ हप्ता अगाडि

प्रतिक्रिया