सरकारको नजरमा देशको अर्थतन्त्र सकारात्मक दिशामा

३ हप्ता अगाडि

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र सकारात्मक दिशामा पुगेको बताएका छन् । चालू वर्षका आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै उनले देशको समग्र अर्थतन्त्र सकारात्मक स्थितिमा आइरहेको बताएका हुन् ।

उनले चालू वर्षमा मुलुकको आर्थिक विस्तार ३.९ प्रतिशतले हुने बताए । उत्पादनमूलक क्षेत्रमा आएको सङ्कुचनका बाबजुद सेवा क्षेत्र र कृषि क्षेत्रमा आएको सुधारले यो स्तरको वृद्धि हुने अनुमान सरकारको छ । प्रदेशगतरुपमा गण्डकी, बागमती र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान छ । चालू वर्षमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान छ । प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान छ ।

चालू वर्षको फागुन महिनासम्म मुद्रा स्फीति ६.०८ प्रतिशत छ । राजश्व परिचालनमा क्रमशः सुधार हुँदै गएको छ । चालू वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व सङ्कलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको छ । यस अवधिमा सङ्घीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको छ । २०८० फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । कूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत छ ।

आर्थिक वर्ष ०७९\०८० मा प्रदेश र स्थानीय तहले सङ्घबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६करोड र राजश्व बाँडफाँडमार्फत १ खर्ब २० अर्ब २६करोड गरी जम्मा ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन् । यस्तै वित्तीय क्षेत्र सबल बन्दै गएको अर्थमन्त्री पुनले बताए । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता, कर्जाको ब्याजदर घट्दोक्रममा रहेको उनले बताए । चालू वर्षको फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल बढेको छ । यससँगै प्रतिशाखा जनसङ्ख्या २ हजार ५१५ पुगेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया