काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रसारणलाईनमा ९०० मेगावाट बिजुली थपिने प्रक्षेपण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट भाषण गर्दै आगामी वर्ष ९०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाईनमा जोडिने लक्ष्य सुनाएका हुन् ।
यससँगै आगामी वर्ष नेपालको कूल जडित क्षमता ४ हजार मेगावाटभन्दा माथि पुग्ने छ । हाल नेपालको कूल जडित क्षमता साढे ३ हजार मेगावाट आसपास छ । यस्तै प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुर्याउने, बंगलादेशमा बिजुली निर्यात, जलाशययुक्त बाँध र यी सबै योजनामा निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्ने नीति सरकारको छ । यसका लागि बुढीगण्डकी, दुधकोसी र नलसिंगाढ जस्ता जलाशययुक्त आयोजनाको निर्माण सुरु गर्ने अर्थमन्त्रीको भनाई छ ।
वैदेशिक रोजगारीमा रहेका युवाको समेत लगानीमा दुई वटा आयोजनाको निर्माण अघि बढाउने उनको घोषण छ । यस्तै जलविद्युतमा जनताको लगानी कार्यक्रम मातहत आयोजना अघि बढाउने, १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन सुरु गर्ने सरकारको घोषणा छ । ऊर्जा उत्पादनलाई विविधीकरणलाई प्रोत्साहन गर्न निजी क्षेत्रको लगानीमा १०० मेगावाट सोलार परियोजना अघि बढाउने र हाइड्रोजनमा लगानी प्रोत्साहन गर्ने अर्थमन्त्रीको घोषणा छ ।
प्रतिक्रिया