काठमाडाैँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’ गर्ने भएको छ । प्रज्ञा भवन कमलादीमा हुने भेलाको सबै तयारी पूरा भएको पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुका तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागीता रहने छ ।
भोलिसम्म चल्ने भेलामा सहभागीहरुलाई १२ समूहमा विभाजन गरी छलफलपछि निष्कर्षसहित सरकारलाई सुझाव दिने एमालेले जनाएको छ ।
एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ ।
प्रतिक्रिया