काठमाडौं – न्युरोड प्रकरणले मुलुकको आन्तरिक राजनीतिमा हलभल ल्याइदिएको छ । सडक साँघरो बनाएर सडकपेटी बढाउने काठमाडौं महानगरको निर्णयले सिर्जित विवादले राजनीतिक बहसलाई अन्तै मोडिदिएको छ । यसकै कारण देशका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमाले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहको पक्ष विपक्षमा उभिएका छन् ।। गिरीबन्धु प्रकरणमा अदालतको फैसलापछि एमाले अध्यक्ष केपी ओली र बालेनबीच द्वन्द्व परिरहँदा यस्तो स्थिति बनेको हो । यद्यपी न्युरोडको फुटपाथ बढाउने घटनासँग गिरीबन्धुको कुनै साइनो छैन ।
आज प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदहरुले बालेनको पक्षमा उभिँदै एउटा स्थानीय तहको प्रमुखसँग जोरी खोज्ने एमाले अध्यक्षको शैली बिल्कुल बेठिक भएको तर्क गरेका थिए । एमालेका सांसदले संसद बाहिरबाट कांग्रेसलाई जवाफ फर्काएका छन् ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले बालेनको शैलीलाई कांग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालामाथिको अपमान भएको टिप्पणी गरे । बालेनका गतिविधि स्वभाविक नभएको दाबी गर्दै उनले चर्को असन्तुष्टिसमेत जनाएका छन् ।
प्रतिक्रिया