काठमाडौँ - नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ।
धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ४ स्थित इनरुवा सबस्टेसम्मको एक सय ५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न गरिएको छ। प्रसारणलाइनले करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्दछ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११ स्थित थानाभर्याङस्थित हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेसनसम्म दुई सय ८८ किलोमिटर प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।
प्रसारणलाइनलाई हेटौँडा–ढल्केबर एक सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ। यसमध्ये ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको हो। हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनु मुलुकको समग्र प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्त्वपूर्ण उपलब्धि भएको बताए।
इनरुवा ४०० केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ। सुनसरी–मोरङ औद्योगिक करिडोरसहित त्यस क्षेत्रको समग्र विद्युत् आपूर्ति सुधारका लागि हाल सञ्चालनमा रहेको इनरुवा–दुहवी १३२ केभी प्रसारणलाइनको पुरानो कन्डक्टरलाई बदलेर उच्च क्षमता ९एचटिएलएस०को राख्ने प्रक्रिया सुरु भइसकेको छ।यसबाट हालको करिब दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने उक्त प्रसारणलाइनको क्षमता वृद्धि भई झन्डै दोब्बर हुनेछ । इनरुवाबाट बर्जुसम्म १३२ केभी प्रसारणलाइन र बर्जुमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ।
इनरुवा सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारणलाइन प्रस्ताव गरिएको छ। इनरुवा–अनारमनी प्रसारणलाइनमा कोरियाली निर्यात आयात ९एक्जिम० बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै छ।ढल्केबर–इनरुवा खण्ड प्रसारणलाइनमा चार सय १७ वटा टावर निर्माण गरिएका छन्। प्रसारणलाइनलाई सप्तकोशी पार गराउन नदीमा ११ वटा टावर निर्माण गरिएको छ।
प्रतिक्रिया