काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो ।
भेटमा मन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्नुहुँदै नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा अघि बढ्ने विश्वास व्यक्त गरीन् । उनले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि दुई देशबीच उच्चस्तरको सहकार्य हुने विश्वास व्यक्त गरीन् । नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको जानकारी दिनुहुँदै मन्त्री शर्माले यसलाई प्रभावकारी रुपमा अघि बढाउन भारतीय सहयोग महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरीन् ।
सूचना प्रविधि दशकलाई अघि बढाउन हरेक वर्ष गरिने कार्य र कार्य क्षेत्र सहितको गुरुयोजना बनाउन थालिएको जानकारी दिनुहुँदै मन्त्री शर्माले छोटो समयमा सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेको भारतको अभ्यास र अनुभवबाट आफूहरुले सिक्न चाहेको बताईन् ।उनले सूचना प्रविधि दशकको पहिलो वर्ष नीति र पूर्वाधार निर्माणको वर्ष हुने भएकाले यसमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताईन् । ‘‘नेपालमा अहिलेसम्म आर्थिक समृद्धिका आधारको रुपमा कृषि, पर्यटन, उर्जा र औद्योगिकको रुपमा लिँदै आएका थियौं’’, उनले भनीन् ‘‘अब यी चार क्षेत्रसँगै सूचना प्रविधि क्षेत्रलाई पनि आर्थिक रुपान्तरणको नयाँ आधारको रुपमा थप गरिएको छ, यो हाम्रा लागि महत्त्वपूर्ण नीतिगत परिवर्तन हो ।’’
शिक्षा र स्वास्थ्य सेवालाई डिजिटलाइसेन गरेर ग्रामीण क्षेत्रमा टेलिमेडिसिन र इलर्निङ प्लेटफर्मको विकास गर्न सकियो भने सेवा प्रवाहलाई गति दिन सकिने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले त्यसका लागि डिजिटल पूर्वाधारको विकासमा जोड दिइएको बताईन् । उनले पछिल्लो समय राष्ट्रिय साइबर सुरक्षा स्थापना गर्नेदेखि एकीकृत सरकारी डाटा सुरक्षा केन्द्र व्यवस्थित गर्दै लैजाने कार्य अघि बढाएको जानकारी दिनुहुँदै यसका लागि जनशक्तिलाई थप प्रशिक्षित गर्ने सवालमा भारतले सहयोग गर्नसक्ने बताईन् ।
राजदूत श्रीवास्तवले भारतले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्नुहुँर्दै नेपालको सूचना प्रविधिको विकासमा पनि सहयोग र साझेदारी गर्न तयार रहेको बताईन् । नेपालको सूचना क्षेत्रको विकासका लागि भारतले तीन क्षेत्रमा सहयोग गर्न सक्ने उल्लेख गर्नुहुँदै उनले भनीन्, ‘‘हामी अनुभव आदानप्रदान र तालिम प्रशिक्षण, डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग र सूचना प्रविधिमा स्टार्टप सञ्चालन गरिरहेको भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि जोड्न सक्छौं ।’’ नेपालका अधिकारीहरु बैङ्लोर दिल्ली लगायतका क्षेत्रमा गएर भारतले सूचना प्रविधिका क्षेत्रमा गरेको विकासबाट सिक्नसक्ने उल्लेख गर्नुहुँदै उनले यसमा सहजीकरण गर्न आफूहरु तयार रहेको बताईन् ।
गत वर्ष भएको मन्त्री शर्माको भारत भ्रमणका बेलामा आफूहरुले गरेको प्रतिबद्धता अनुसार भारतमा बस्ने नेपालीहरुका लागि मोबाइल सिम वितरण सहज गराइएको जानकारी दिनुहुँदै राजदूत श्रीवास्तवले व्याण्डविथ लगायतका क्षेत्रमा बेलाबेलामा देखिने समस्या पनि समाधान गरेर जानुपर्ने बताईन् । भेटमा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनालाई प्रभावकारी रुपमा अघि बढाउन पनि भारत सरकारको ध्यानाकर्षण गराईन् । भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया