काठमाडौँ - मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।
एमसिए नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो । पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसिए–नेपालले जनाएको छ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसिसी र एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेर आदानप्रदान गरे ।
एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीन वटा सवस्टेसनमध्ये एमसिए नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो । उक्त सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘नेपालको प्रसारण प्रणाली विकास योजनामा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अंगका रूपमा परिकल्पना गरिएको ४०० केभी रातामाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्को महत्वपूर्ण उपलब्धि हुनेछ ।’
चार सय केभी रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनबाट प्राप्त हुने तीन हजार दुई सय मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता पनि हुनेछ । नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेजस्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ ।
प्रतिक्रिया