काठमाडाैं- केन्द्रले बजेट ल्याएसँगै स्थानीय तहहरुले पनि बजेट प्रस्तुत गरेका छन् । सोमबार ६ महानगरपालिकाले बजेट प्रस्तुत गरेका छन् ।६ महानगरले ५३ अर्ब ६४ करोड १३ लाख रुपैयाँको बजेट ल्याएका छन् ।
यो अंक चालू आवको भन्दा एक अर्ब ६२ करोड ३८ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढी हो । महानगरहरूले चालू आवमा ५२ अर्ब एक करोड ६४ हजार रुपैयाँको बजेट ल्याएका थिए । विराटनगर, पोखरा, भरतपुर, ललितपुर र काठमाडौंले आगामी आवका लागि चालू आवको भन्दा बजेटको आकार बढाएका छन् भने वीरगन्जले घटाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरूले १० असारसम्ममा आगामी आवका लागि बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ ।
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिका : सबैभन्दा ठूलो बजेट भने काठमाडौं महानगरले ल्याएको छ । आगामी आवका लागि काठमाडौं महानगरले २५ अर्ब ७० करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको छ । यो अंक चालू आवको भन्दा १५ करोड ८५ लाख रुपैयाँले बढी हो । चालू आवका लागि उक्त महानगरले २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको थियो । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमहरूका लागि १९ करोड नौ लाख विनियोजन भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार विनियोजन भएको छ । सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट विनियोजन हुँदा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि एक अर्ब ८९ करोड २१ लाख ३० हजार रुपैयाँ बजेट छुट्याएको छ ।
ललितपुर महानगरपालिका :
ललितपुर महानगरपालिकाले सबैभन्दा धेरै बजेट बढाएको छ । चालू आवमा ललितपुर महानगरले ६ अर्ब ५० करोड पाँच लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, आगामी आवका लागि भने त्योभन्दा ९६ करोड ७८ लाख बढी अर्थात् सात अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको छ । अन्य महानगरको तुलनामा ललितपुरले धेरै बजेट बढाएको छ ।
भरतपुर महनगरपालिका :
भरतपुर महानगरले पनि चालू आवको भन्दा २४ करोड ६ लाखले बढाएर आगामी आवका लागि ६ अर्ब ५५ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालू आवका लागि भरतपुरले ६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको थियो । चालूतर्फ २ अर्ब ७२ करोड १४ लाख ६४ हजार र पुँजीगततर्फ ३ अर्ब ७६ करोड ६५ लाख २६ हजार विनियोजन भएको छ । महानगरको चालू आवको बजेट ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार छ ।
पोखरा महानगरपालिका :
पोखरा महानगरपालिकाले सात अर्ब ५१ करोड ३२ लाख रुपैयाँको बजेट ल्याएको छ जुन चालू आवको भन्दा ३६ करोड १७ लाख रुपैयाँले बढी हो । चालू आवका लागि पोखरा महानगरले सात अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट ल्याएको थियो । पोखराले आगामी वर्ष आफ्नो आन्तरिक आम्दानी चालू आवको भन्दा करिब आधा घट्ने गरी बजेट ल्याएको छ । चालू आवमा पोखराले दुई अर्ब ७६ करोड तीन लाख आम्दानी गर्ने लक्ष्य लिएकोमा आउँदो वर्ष सो आम्दानी करिब आधा घटेर एक अर्ब ५५ करोड ५१ लाख ४० हजार मात्र हुने जनाएको छ । महानगर आफ्नो आन्तरिक आम्दानीको स्रोत बढाउनेभन्दा पनि क्रण लिएर बजेटको आकार बढाउन लागेको देखिएको छ ।
विराटनगर महानगरः
विराटनगर महानगरले पनि चालू आवको भन्दा २१ करोड ४८ लाख रुपैयाँले बढाएर तीन अर्ब ४९ करोड ९८ लाखको बजेट ल्याएको छ । चालू आवका लागि विराटनगरले तीन अर्ब २८ करोड ५० लाखको बजेट ल्याएको थियो । सोमबार १४औँ नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले आगामी आवको बजेट प्रस्तुत गरेकी हुन् ।
विरगन्ज महानगरपालिका:
यसवर्ष यस महानगरपालिकाले दुई अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको छ । अन्यपाँच महानगरले बजेटको आकार बढाउँदा वीरगन्जले भने ३१ करोड ८७ लाख रुपैयाँले घटाएर बजेट ल्याएको हो ।
प्रतिक्रिया