२०७९ को आम निर्वाचनपछि माओवादीलाई सत्तामा जाने जनादेश नै थिएन । कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा गएको माओवादी निकै कमजोर नतिजा सहीत तेस्रो दल बन्न सक्यो । प्रत्यक्ष निर्वाचनमा १८ सिट मात्र ल्याएको दल दुई ठूला दल कांग्रेस र एमालेलाई बार्गेनिङ्ग गरेर सत्ताको नेतृत्वमा त पुग्यो तर उसको राजनीतिक इमान्दारिता र विश्वासमाथि कसैले विश्वास गर्ने स्थिति रहेन । युद्धबाट आएका नेता प्रचण्डको चरित्र पदलोलुप र पल्टुरामको रुपमा चित्रित हुने अवस्था बन्यो । माओवादी पार्टी भित्र गुटको बिजारोपण भयो । अध्यक्ष प्रचण्ड नै आफ्नै पार्टीभित्र फुटाउ र शासन गर भन्ने अवस्थामा पुगे । अध्यक्षको विरुद्ध पार्टीभित्र भुसको आगो सल्कियो । उनका अगाडि सबैले ‘महान र गौरवशाली’ भने पनि प्रचण्ड विरोधी लप्काले पुरै पार्टीलाई लपेटिसकेको थियो । सरकारमा जति बस्यो त्यति नै पार्टी कमजोर र समापनको अवस्थामा पुग्ने प्रष्ट चित्र देखिइसकेको थियो ।
माओवादीले सत्ताको नेतृत्व गरिरहे पनि एकथरी कार्यककर्ताले सरकारको अनुभूति गर्न सकिरहेका थिएनन् । सत्ता र नेतृत्वको नजिक भएकाहरुको भने सानै फरक । उनीहरु राजसी सुविधा र शैलीमा प्रस्तुत भएका थिए । पार्टीभित्रै सत्ता र प्रतिक्षको शत्रुतापूर्ण अवस्था जो कोहीले अनुभूति गर्ने अवस्था रह्यो । सत्तामा गएर माओवादीले कार्यकर्ता र जनतालाई बिर्सेको थियो । एक हिसाबले नेतृत्व अर्थवादमा फसिसकेको थियो । माओवादी क्रान्तिको परिचय नै एक किसिमले गुमेको अवस्था छ । हिंजो लडेको माओवादी , यति ठूलो परिवर्तनको बाहक माओवादी आज सत्ताको लागि जे पनि गर्ने पार्टीको रुपमा चिनिने स्थिति बन्यो । पार्टीलाई यो अवस्थामा लैजाने नेतृत्वका विरुद्ध कसैले रचनात्मक आलोचना पनि गर्न नपाइने । पार्टीको हितमा कसैले बोल्यो भने पार्टीबाट नै निकाल्न षडयन्त्र गर्ने अवस्थामा समेत माओवादी पुगेको भनेर चर्चा पनि सुरु भएको छ ।
सत्ताको बहिर्गमनले केही लोभीपापी र अवसरवादीहरु त निराश होलान । तर आम कार्यकर्तालाई भने अब पार्टी जोगिन्छ कि भन्ने आशा पलाएको छ । पार्टी अब जनतासँग जान्छ कि फेरि पनि सत्ताकै फोहरी खेलमा रमाउँछ अहिले नै भन्न नसकिएला । किनकी अध्यक्ष प्रचण्ड आफूलाई निकै ‘गतिशील’ भन्न रुचाउँछन् । सत्ता बाहिर बस्ने बानी प्रचण्डको पनि हटिसक्यो । उनका निकटस्थहरु पनि सत्ताको ‘रस’ खाएर कहिल्यै नअघाउने खालका छन् ।
माओवादी आन्दोलनको ऐतिहासिक उपलब्धी र त्यसको मर्मलाई रक्षा गर्नको लागि प्रचण्ड अब आगामी निर्वाचनसम्म सत्ता बाहिर नै बस्न जरुरी छ । सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै बिखण्डित माओवादी शक्तिलाई एकत्रित पार्न प्रचण्डले आफ्नो उर्जा खर्च गर्नु पर्दछ । यसले नै उनको र सिंगो माओवादी पार्टीेको भविष्य जोगिनेछ । हेरौं प्रचण्ड कुटनीति कता जान्छ ?
प्रतिक्रिया