काठमाडौँ - शैलुङमा अवरुद्ध भएको विद्युत् सेवा एक हप्ता पछि सञ्चालनमा आएको छ ।
असार २१ गते परेको भीषण वर्षाले रुख र विद्युतको पोल ढलेर अवरुद्ध भएको विद्युत् सेवा स्थानीय समेतको प्रयासमा रुख पन्छाउने, पोल गाड्ने तथा तार तान्ने कार्यपछि शुक्रबारबाट सुचारु भएको छ । दोरम्बा विद्युत् स्वस्टेसनले समयमा काम नगर्दा एक हप्तासम्म स्थानीय अन्धकारमा थिए । विद्युत् सेवा अवरुद्ध हुँदा १ सय २० घर बढी उपभोक्ता तथा शैलुङ पुग्ने पर्यटकले समेत समस्या भोगेका थिए ।
विद्युत् सेवा सुचारु भएपनि शैलुङ जाने सडकको अवस्था अहिले पनि उस्तै छ । सोही वर्षाको कारण बिग्रिएको सडक मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा सदरमुकाम मन्थली तथा काठमाडौँबाट शैलुङको आवागमन बन्द भएको छ । सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न लैजान समेत समस्या भएको स्थानीय दावा साङ्बु शेर्पाले जानकारी दिए । यसको साथै शैलुङको कृषि उपज पनि स्थानीयले बजार पुर्याउन पाएका छैनन् ।
यसै वर्ष स्तरोन्नति गरिएको सडक बाढी पहिरोको कारण ठाउँ ठाउँमा भत्किएको छ भने ठाउँ ठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ । सडक मर्मतको काम सुरु भएको छैन । शैलुङमात्रै होइन दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्र टोकरपुर जाने सडक समेत वर्षाको कारण जोखिमपूर्ण बनेको छ । दोरम्बाको अग्लेश्वरीदेखि टोकरपुर पुग्ने सडक यातायात साधन चल्नन सक्ने अवस्थामा पुगेको छ ।
प्रतिक्रिया