काठमाडाैं- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् । शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिएको हो ।आफन्तहरु खोलाको डिलमा निरीह भएर त्यो अत्याशलाग्दो दृश्य हेरिरहेका छन् । सके शास नभइ नि लाससम्म भेटिने कामना गरेका छन् । श्वास भेटिने सम्भावना त अब कमै रहला, कमसेकम आफन्तहरु लास भने पनि भेट्न चाहान्छन् । सुम्मुम्याउन चाहान्छन् । एकपटक मुख हेर्न चाहान्छन् । अहिलेसम्म लास त परको कुरा बससम्म भेटिएको छैन ।
खोजी कार्यको लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय दिनभरी भोक पानी नभनी खटिएका छन् । दुईदिनसम्म पनि नभेटिएपछि आजबाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठुलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो ।
घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठुलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो ।शनिबार बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार मृतावस्थामा तीनवटा शव भेटिएकोमा दुई जनाको पहिचान खुलेको छ ।
काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । आज बिहान ७ बजेबाट पुनः काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार आइज गृह सचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।
शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।
प्रतिक्रिया