१५ दिनको अवधिमा कास्कीमा १४ जनाको मृत्यु

आइतबार, ३० असार २०८१, १३ : ४४

काठमाडौँ - असार महिनाको लगभग १५ दिनको अवधिमा कास्कीमा १४ जनाको मृत्यु भएको छ । उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

गत बिहीबार मात्रै ११ जनाको ज्यान गएको छ । पोखरा १९ पुरुन्चौरको तल्लाकोट ठाँटीमा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको छ । स्थानीय कुलबहादुर परियारको घर पुरिँदा उनीसहित श्रीमती मनकुमारी, आमा लक्षिमा, छोरीहरू प्रशना र प्रभा तथा ज्वाइँ अस्मित परियारको मृत्यु भएको छ । पहिरोका कारण छिमेकी राधिका परियारको पनि ज्यान गएको प्रहरीले जनाएको छ । 

यस्तै, पोखरा ३२ चैनपुरमा पहिरोले आरती ओझाको घर पुरिँदा छोरीहरू १८ वर्षीय अनिता र ११ वर्षीय अनुस्कासँगै दाइको छोरा ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भयो ।मादी ११ तल्लो ताप्लेमा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको छ । यसअघि असार १२ गते पोखरा २७ आरुपाटामा ३ वर्षका अनमोल सुनारको पहिरोमा पुरिएर मृत्यु भएको छ भने सोही दिन मादी ५ मा १३ वर्षकी आयुष्मा रानाभाटको मृत्यु भएको छ ।

असार २५ गते पोखरा २७ सहेलीका २२ वर्षीय भीमबहादुर थापाको पनि पहिरोकै कारण मृत्यु भएको हो । हालसम्म विपद्‌बाट ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यस अवधिमा जिल्लाभर ४ वटा बाढी, २४ वटा पहिरो, ६ वटा डुबान र ३ वटा कटान भएको छ । 

आइतबार, ३० असार २०८१, १३ : ४४

प्रतिक्रिया