२०८०/८१ मा विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

शनिबार, १२ साउन २०८१, १३ : ४८

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०\८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ।

केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए। उनका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ।‘विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना छ करोड ७० लाख २८ हजार चार सय १२ थियो । एक हजार एक सय ३६ ग्राहकबाट तीन करोड ९० लाख ९७ हजार पाँच सय ६७ असुली भएको छ’, प्रमुख साहले भने।

उनका अनुसार बक्यौता बुझाउन बाँकी ३४ ग्र्राहकसँग प्राधिकरणले दुई करोड ७९ लाख ३० हजार आठ सय ४५ असुली गर्न बाँकी छ। अनारमनी वितरण केन्द्रका दुई सय ३७ ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ। कालोसूचीमा रहेकाबाट एक करोड ३२ लाख ३१ हजार ६३ बक्यौता असुली गर्न बाँकी छ।

शनिबार, १२ साउन २०८१, १३ : ४८

प्रतिक्रिया